धनुषा । घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाकी एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छिन् ।
परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका—८ लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले आफ्नो श्रीमानको अन्तिम इच्छा पूरा गर्नका लागि उनको चितामा दागबत्ती दिई किरियापुत्रीसमेत बसेकी छिन् ।
दुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत भएकी गुलेविया आफ्ना ७० वर्षीय श्रीमान् धनेश्वर महतोको चितामा दागबत्ती दिई श्राद्ध संस्कारमा समेत स्वयम् सक्रिय भइन् ।
करिब १५ वर्षदेखि दम रोगबाट पीडित रहेको धनेश्वरले मर्ने बेलामा सार्वजनिक रुपमै दागबत्ती दिनका लागि गुलेवियालाई आग्रह गरेपछि उनी श्रीमानको मृत्यु भएपछि गरिने हरेक विधि व्यवहारमा सक्रिय भइन् ।
‘आफ्नो श्रीमानको दागबत्ती कसलाई दिन मन लाग्छ र यो त मेरोे बाध्यता हो,’ उनले भनिन्, ‘मेरा दुईवटा छोरामध्ये जेठो छोरा रामबाबु कामको सिलसिलमा कतारमा छ भने कान्छो छोरा वीरेन्द्र मलेसियामा कार्यरत छ ।’
बुबाको निधन भए पनि त्यहाँको कम्पनीले दुबै छोराको घर आउने बिदा स्वीकृत नगरिएको, स—साना नातिहरुको मुण्डन नभएको, नजिकको नातेदारमा कुनै पुरुष नभएपछि बाध्य भएर आफूले यो कदम उठानुपरेको उनको भनाइ छ ।
समाजका भद्रभलादमीले बृहत् छलफल गरेर गुलेवियाको हातबाट नै चितामा दागबत्ती दिनका लागि स्वीकृत दिएको स्थानीय शिक्षक जागेश्वर महतोको भनाइ छ ।
समाजमा रहेका कुरीति र रुढीवादी परम्परालाई तोड्नका लागि गुलेवियाले अहम् भूमिका निर्वाह गरेको महिला अधिकारकर्मी सुनिता कुमारीले बताइन् ।
सदियौँदेखि चलिआएको यस्ता कुरीति एवम् कुसंस्कारलाई तोडेर गुलेवियाले राम्रो काम गरेको नेपाल कुशवाहा कल्याण समाज महोत्तरीका अध्यक्ष दिनेश महतोले बताए ।