Saturday, 15 October 2016

प्रचण्डले चिनिया राष्ट्रपति सीलाई भेट्दा मोदी पनि किन गए सँगै

काठमाडौ । भारतको गोवामा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा साइडलाइन वार्तामा शनिबार साँझ ७ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय भेट सके ।

त्यसको केही क्षणपछि होटेलको आफ्नो कोठानजिकै रहेको अर्को एक वेटिङ रुममा प्रधानमन्त्री दाहाल पुत्र प्रकाश दाहाल र पत्नी सीतासँग बसिरहेका थिए । अचानक चिनियाँ राष्ट्रपति सी त्यहाँ आइपुगे । दाहाल छक्क परे । उनले सोच्दै सोचेका थिएनन्, यसरी चिनियाँ राष्ट्रपतिसँग एकल वार्ता हुनेछ । दाहालले चिनियाँ राष्ट्रपति सीसँग एक्लै १५ मिनेट वार्ता गरे ।

वार्तामा सीले आफू नेपाल आउन अति इच्छुक रहेको बताए । ‘म तपाईंको मुलुक आउन चाहन्छु । चाँडै आउँछुु, उनले भने । दाहालले आफू स्वागत गर्न आतुर रहेको बताए ।

दाहाल र सी जिनपिङबीच ‘वेटिङु रुममा कुरा भइरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी टुप्लुक्क आइपुगे । दाहाल खुसीले गदगद भए । दाहालले मोदीसँग पनि एकल वार्ता गर्न भ्याए । त्यसपछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच १५ मिनेट संयुक्त कुराकानी भयो । वार्तामा मोदीले नेपालसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताए ।

दाहालले पनि भारतसँग सम्बन्ध सुदृढ गर्न चाहेको बताए । चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई साथमा राखेर प्रधानमन्त्री दाहाल बीचमा बसे । दाहालले दुवै नेतासामु भने, ‘नेपाल चीन र भारतको बीचमा रहेको आकारले सानो मुलुक भए पनि यहाँहरूका लागि महत्वको मुलुक हौं भन्ने विश्वास छ । हामी दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौं ।

नेपाल गौतम बुद्ध जन्मेको देश र भगवान् पशुपतिनाथको देश भएकाले चीन र भारतका लागि यसको महत्व रहेको भन्दै दाहालले सी र मोदीसँग यस क्षेत्रको विकासका लागि तीनै देशले मिलेर काम गर्नुपर्ने बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us