काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकमानसिंह कार्की असनको साँढेजस्तो बनेकोले अहिलेको अवस्था आएको बताएका छन् । शनिबार गोरखा पुगेका बाबुरामले संचारकर्मीसँग भने, लोकमान कसैलाई नटेर्ने असनको साँढेजस्तो बन्न खोजे । त्यही कारण आज यो अवस्था आयो । उनले लोकमानलाई मात्रै हटाएर समस्या समाधान नहुने बताउँदै भने, लोकमान एउटा व्यक्तिलाई हटाएर मात्र समस्या समाधान हुँदैन । अख्तियारलाई हटाउनुपर्छ । राजनीतिक भागबन्डामा बन्ने अख्तियारले भ्रष्टाचारविरुद्धका स्वतन्त्र रुपमा प्रभावकारी काम गर्न सक्दैन। अख्तियारको ठाउँमा शक्तिशाली लोकपाल बनाउनुपर्छ । अख्तियारको काम छैन।
लोकमानलाई कारबाही गर्ने नाममा अहिले धेरै भ्रष्टाचारीलाई उम्काउने खेल भइरहेको बताउँदै भने, एउटा चोरलाई दण्डित गर्ने नाममा दसजना चोरलाई उम्काउने प्रयास भइरहेको छ । त्यसमा नागरिक खबरदारी आवश्यक छ । उनले लोकमानलाई कारबाही गर्ने नाममा भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउनु नहुनेमा जोड दिए ।
उनले हिन्दु धर्मका नाममा पूर्वराजा र राजावादीहरुले गतिविधि बढाएको बताउँदै भने, हिन्दुत्वको आवारणमा राजतन्त्र फर्काउने उद्देश्यसहित विभिन्न गतिविधि भइरहेको छन् । यसमा राजनीतिक दलहरु सतर्क हुन आवश्यक छ । उनले धर्म निरपेक्षताको निर्णय भइसकेकोले यसमा पछाडि फर्कदा झन् समस्या आउने बताए ।