Tuesday, 4 October 2016

दसैंमा घर जाने यात्रुलाई सास्ती नै सास्ती

काठमाडौं । दसैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन् ।यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सयवटा बस थप्ने निर्णय गरेसँगै निजी व्यवसायी तातेका हुन् ।

यात्रुको चापअनुसार दसैंमा बसको संख्या थप्न निजी क्षेत्रले राखेको माग सरकारले पूरा नगरी आफैं बस सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीले लामो दुरीमा तीन दिनमा हजार बस थप्ने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुको अत्याधिक चाप हुने आगामी बिहीबार, शुक्रबार र शनिबार दैनिक तीन सय ३० गाडी थपेर सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।
बस थप्दा लाग्ने अतिरिक्त सञ्चालन खर्च महासंघले व्यहोर्ने सर्तमा व्यवसायी बस थप्न तयार भएका हुन् । सरकारले माग पूरा नगरेपछि मानवीय संवेदनालाई हेर्दै घाटा खाएरै भए पनि यात्रुको अत्यधिक चाप हुने तीन दिनमा हजारवटा नयाँ र पुराना गाडी थपेर सञ्चालन गर्ने निर्णय गरेका छौुं, महासंघका उपमहासचिव सुरेश हमालले भने, सरकारले थप्ने भनेको सयवटा गाडी अहिलेको अवस्थामा हात्तीको मुखमा जिरा बराबर छ । झन् सरकारी प्रक्रिया झन्झटिलो र लामो हुने भएकाले ती गाडी सञ्चालन हुन्छ वा हुँदैनन्, हेर्न बाँकी छ ।

सुरक्षित रूपमा यातायात सञ्चालन गर्न आवश्यक पर्ने आधारभूत सुविधा पनि उपलब्ध नगराउने सरकार सबै दोष यातायात व्यवसायीमाथि थोपरेर उम्किएको आरोप उनले लगाए । हमालका अनुसार ती तीन दिनमा नियमितबाहेक थपिने बसको टिकटका लागि अग्रिम बुकिङ खुलिसकेको छ । 

महासंघले यात्रुको चाप जुन सडक खण्डमा अत्यधिक हुन्छ, त्यही सडकखण्डमा बस थप्ने जानकारी गराएको छ । सुदूरपश्चिम, मध्यपश्चिम र पूर्वी क्षेत्रका सडक खण्डमा बस थपिने महासंघले जनाएको छ । तीनवटै क्षेत्रमा अहिले यात्रुको चाप अत्यधिक छ । यसबाहेक सोमबारदेखि यात्रुको चापअनुसार केही रुटमा दुई दर्जन बस थपेर सञ्चालनमा ल्याइएको महासंघले दाबी गरे पनि गौशाला, कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायतका स्थानबाट दैनिक सयौंको संख्यामा यात्रुहरू टिकट नपाएर फर्किरहेका छन् ।

सरकारले सयवटा बस थप्ने भने पनि मंगलबारसम्म उक्त विषयमा कुनै प्रक्रिया अघि बढाएको छैन । सरकारले हल्ला गरेर झारा टार्ने प्रयास गरेको कतिपय यात्रुले बताएका छन् । यात्रुको चापअनुसार अहिले दैनिक हजारको संख्यामा बस आवश्यक रहेको जानकारी यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ दिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us