Friday, 14 October 2016

सबै चिच्याएपछि फनफनी घुमेर डुंगा डुब्यो : माइखोला डुंगा दुर्घटनाका प्रत्यक्षदर्शी

चन्द्र तामाङ, प्रत्यक्षदर्शी, महमाई ७ इलाम


म र मेरी श्रीमती धान काट्दै थियौं । डुंगा चल्ने ठाउँ तीन सय मिटरजति टाढा थियो । बिहानैदेखि खोलामा मान्छेको दोहोरीलत्त थियो । करिब दुई सयभन्दा बढी मानिस आवतजावत गरिसकेका थिए । अन्तिमपटक होला, पारिपट्टि पचासजनाभन्दा बढी यात्रु थिए । उनीहरू डुंगा चढे ।

दहबाट डुंगा पार भएर महमाईतर्फ आउँदै थियो, बाटोमै ढल्पलायो । सबै चिच्याए । डुंगा पल्टियो । म पाँच मिनेटमै पुगें । पौडन जान्नेहरू उद्धार गर्दै थिए । खोलाकिनारमा रहेका विष्णु तामाङ, हेमन्त दनुवारलगायत स्थानीयले महमाईतिरका केहीलाई उद्धार गरिसकेका थिए । केही बगेर तल पुगेका थिए ।

दानाबारीको पाटोमा निक्कै मानिस थिए । एक महिलाले आफ्ना नानीहरू गुमाएपछि दुईपटक आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । अर्की एक महिला आफन्त गुमाएपछि बेहोस भएकी थिइन् । सबैको होस उडेको थियो । कोही केही भन्नसक्ने अवस्थामा थिएनन् ।

डुंगा पल्टिँदा पाँचको  मृत्यु

इलामको दानाबारी र महमाईबीच पर्ने माईखोलाको लोदिया दोभानमा शुक्रबार दिउँसो डुंगा पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा केही बेपत्ता भएको आशंका प्रहरी र स्थानीयले गरेका छन् । ५० भन्दा बढी यात्रुलाई माईखोला तार्दै गरेको बेला डुंगा पल्टिएको थियो ।

घटनास्थल पुगेका इलामका एसपी सुशीलकुमार यादवले भने बेलुका अबेर दिएको जानकारीअनुसार अझै कतिजना बेपत्ता छन् भन्ने यकिन भएको छैन । ‘अहिले उद्धार र खोजीकार्य स्थगित गरेका छौं । शनिबार बिहान सबेरैदेखि फेरि खोजी सुरु गर्छौुं, उनले भने ।

प्रहरीका अनुसार मृत्यु हुनेमा महमाई १ का ७५ वर्षीय जसबहादुर राई, ४५ वर्षीया डम्बरमाया मगर, ५८ वर्षीय हर्कबहादुर रानामगर र महमाई २ की ३९ वर्षीया पवित्रा पौड्याल छन् । करिब चार वर्षका एक बालकको भने सनाखत हुनसकेको छैन ।

स्थानीयले भने सातजनाको शव भेटिएको दाबी गरेका छन् । स्थानीय मोहन घिमिरेले भने, ‘माईखोलाको चेप्टीमा ६ जना र बिस्नेटारमा एकजनाको शव फेलापरेको छ ।ु 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us