काठमाडौं । बिहीबार दिउँसो गर्भवती महिला लिन आएको मनाङ एयरको हेलिकप्टर खराव मौसमका कारण गन्तब्यमा पुग्न नसकेपछि एक गर्भवतीको मृत्यु भएको छ ।
ताप्लेजुङको पापुङ गाविस १ किलिङ्की ४० वर्षीया पेमा शेर्पाको प्रसुति हुन नसकेपछि हेलिकप्ट चार्टर गरेर बोलाइएको थियो । दिनभरी हेलिकप्टर आकासमा घुमे पनि बाक्लो कुहिरोका कारण बस्न सकेन । खोक्लिङ गाविसको डाँडाँ गाउमा राखेर दुई पटक बिरामी ल्याउने प्रयास गरेको थियो । तर सम्भव नभएपछि साँझ सदरमुकाम फुङलिङको भानुजन माविको मैदानमा राति राखिएको थियो । ‘मौसममा सुधार आए शुक्रवार बिहान फेरि प्रयास गर्ने योजना थियो, तर बिहानै मृत्युको खबर आयो’ हेलिकप्टरमा विरामी लिन आएका कविन्द्र शेर्पाले भने, ‘उनको राति १ बजेतिर मृत्यु भएछ ।’
पेमालाई चार दिनदेखि प्रसुति बेथा लागेको उनका काका नुपु शेर्पाले बताए । पेमाका यसअघि एक छोरा र छोरी छन् ।