Monday, 3 October 2016

दशैको मौका छोपेर यसरी बेचिदैछ रोगी खसी बोका, खाद्य संस्थानले ल्याएको खसीबोकामा निमोनियाको संक्रमण

काठमाडौं ।  अस्वस्थ मासुको उपभोगले मानव स्वास्थ्यमा पर्नसक्ने असरलाई दृष्टिगत गर्दै सरकारले ठूलो परिमाणमा उपत्यका भित्र्याइएका खसीबोकाको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ ।

नेपालका विभिन्न जिल्ला तथा भारत हुँदै काठमाडौं भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्न सरकारले क्षेत्रीय जनस्वास्थ्य कार्यालयको संयोजकत्वमा राजधानीका मुख्य खसीबजारमा परीक्षण थालेको छ । कार्यालयले विभिन्न टोली नै गठन गरेर आइतवारदेखि ती खसीबजारमा अनुगमन गरेको छ ।

कार्यालयले खाद्य संस्थान, काठमाडौंका कलंकी, सतुंगल, बागबजार, बिजुलीबजार लगायतका मुख्य खसीबजारमा दशैंमा भित्र्याइएका खसीबोकाको अनुगमन गरेको छ । कार्यालयले कलंकी तथा सतुंगल, बागबजार, बिजुलीबजार र खाद्य संस्थानमा विशेषज्ञ सम्मिलित छुट्टाछुट्टै टोली नै खटाएको छ । ती टोलीले सम्बन्धित स्थानमा भित्र्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने कार्यालयका प्रमुख डोरनाथ अधिकारीले बताए ।

टोलीले गरेको अनुगमनका क्रममा कलंकीमा ८ वटा खसीबोका अस्वस्थ भेटिएका छन् । कलंकी क्षेत्रको अनुगमनमा खटिएका वरिष्ठ भेटनरी अधिकृत डा सुमनकुमार मण्डलका अनुसार ती खसीबोकामा निमोनिया लगायतका स्वास्थ्य समस्या देखिएका छन् । टोलीले कलंकीमा आइतवार र सोमवार गरेर २१ सय ६९ खसीबोकाको स्वास्थ्य परीक्षण गरको थियो । ‘रोगी खसीबोकाको उपचार गराइरहेका छौं,’ मण्डलले भने, ‘स्वास्थ्य स्थिति दुरुस्त भएमात्र बिक्री गर्न व्यवसायीलाई निर्देशन दिएका छौं ।’

त्यस्तै, कार्यालयले गरेको स्वास्थ्य परीक्षणका क्रममा खाद्य संस्थानका ८ खसीबोका रोगी भेटिएका छन् । अनुगमनमा खटिएका कार्यालयका क्षेत्रीय जनस्वास्थ्य चिकित्सक डा नारायण घिमिरेका अनुसार सोमवार गरिएको स्वास्थ्य परीक्षणमा संस्थानमा रहेका ८ खसीबोका अस्वस्थ भेटिएका हुन् । संस्थानमै रहेका साढे सात सय च्याङ्ग्रामा भने कुनै पनि खालको स्वास्थ्य समस्या नदेखिएको घिमिरेले बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us