काठमाडौं । काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताउनुभएको छ । अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी आज अदालतमा पेस गर्नुभएको बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ । बकपत्रमा गङ्गामायाले रुद्र आचार्यबाहेकका अन्य प्रतिवादीहरु गाउँछिमेकका मानिस भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ – “देखेचिनेकै व्यक्ति हुन्, त्यति ठूलो इबी त कसैसँग पनि होइन, मेरी माइली देवरानी प्रतिवादीमध्येकी सीता अधिकारीको अंश लगाउन जाँदा निज अधिकारीका मामा प्रतिवादी छविलाल पौडेल, कालीप्रसाद र जमुना पौडेलसहितले “तँ आफ्नो अंश लिई बसेको मान्छे किन अंशबन्डा लगाएको ठाउँमा आउनुपर्यो” भनी वादविवाद गरी धम्की दिएका थिए ।
त्यहीबाट हाम्रो परिवार मास्ने इबी गरेका रहेछन् । निजहरुकै समूहका अन्य प्रतिवादीले हामीसँग रिसइबी राखेका हुन् ।” गङ्गामायाले आफ्ना छोरा कृष्णप्रसादलाई मार्नका लागि नेपाली सेनाको लेसनायक भएको निहुँ पारिएको पनि बकपत्रमा उल्लेख छ । उहाँले भन्नुभएको छ – “तेरा छोरा आर्मीमा जागिर खाई लेसनायक भएको भनी हामीले मारेका हौँ भनेर असारको १५ गते प्रतिवादीमध्येका छविलाल पौडेलले मेरै घरमा गई भनेका हुन् , हामीले मारिदियौँ, तँ मुसाले के गर्न सक्छस् भनी धक्कीसमेत दिएर गएका हुन् ।” गङ्गामायाले खासगरी मार्ने योजना बनाउने छविलाल पौडेल र जानुका पौडेल भएको भन्दै निजहरुसँगै विष्णु तिवारी, मेघनाथ पौडेल, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, बाबुराम अधिकारी, हिमलाल, रुद्र शुभद्रा तिवारी, सीता अधिकारीसमेत पनि उक्त योजनामा संलग्न रहेको बताउनुभएको छ ।
गङ्गामायाले आफ्नो बकपत्रमा भन्नुभएको छ – “मार्नेचाहिँ चितवनमै बस्ने भीमसेन पौडेल र परशुराम पौडेल हुन् । प्रतिवादी छविलाल र परशुराम पौडेल स्वयम्ले हामीले मारेका हौँ भनी अझ ठूला कुरा गरे राम्रो हुँदैन भनेका थिए । निजहरुले नै भनेको आधारमा मैले उल्लिखित प्रतिवादीहरुको संलग्नतामा मेरो छोरा मारेका हुन् भनेको हुँ ।” प्रतिवादीतर्फका अधिवक्ता गोपीलाल देवकोटाले लिएको बकपत्रको प्रतिलिपिमा गङ्गामायाले भन्नुभएको छ – “कालीप्रसादका छोरा रामप्रसाद अधिकारीले जेठ २५ गते बिहान १० बजेतिरको समयमा गई तिमीहरुको छोरा कृष्णप्रसाद गाडी दुर्घटनामा परेको छ, भए रु आठर१० हजार लिएर जानु प९यो । अहिले अस्पतालमा उपचार भइरहेको छ भनेका थिए ।
उहाँले थप्नुभयो – “मेरा श्रीमान् भरतपुर अस्पताल पुगिसकेपछि ल भाइको त मृत्यु भइसकेछ भनी तिनै रामप्रसादसमेतले के–के कागज बनाई मेरो श्रीमान्को हात समाई सही गर्न लगाई लास बुझेर पोल्नसमेत उक्साएको मेरा श्रीमान् नन्दप्रसाद घर गइसकेपछि यसरी मारेछन् भनी सुनाएपछि थाहा पाएको हुँ ।” गङ्गामायाले पूर्व तयारीका साथ आफ्नो छोराको हत्या भएको बताउनुभएको छ । बकपत्रमा गङ्गामायाले भन्नुभएको छ – “प्रतिवादी भीमसेन र पर्शुरामबाहेक चितवनमा मेरो छोरा चिन्ने अरु कोही थिएनन् । मेरो छोरा कृष्णप्रसाद घरबाट निस्किएर चितवन गएकै दिन प्रतिवादी छविलाल मेरो घरमा गई छोराहरु कहाँ गए भनेर सोधेका थिए । मैले सिधै कान्छो चितवन गयो, ठूलो ट्युसन पढाउन गयो भने, वास्तवमा उनीहरु कुरा बुझ्न गएका रहेछन् ।” बकपत्रमा भनिएको छ “छविलालका छोरा प्रतिवादी पर्शुराम पौडेल र निजकै भतिजा भीमसेनलाई कृष्णप्रसाद चितवन आएको कुरा निजै छविलालले भनेका हुन् ।