शिक्षा बिना जिनगी बेकार यौ, चलु स्कुल पढैल
आबो जे स्कुल नै जेबै त भजायत जिनगी अन्हार यौ चलु स्कुल पढैल‘
बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा राजविराजका दृष्टिविहीन बालबालिकाहरू खूबै सुरमा गाइरहेका थिए । दृष्टिविहीन बालबालिकाले शिक्षाको महत्व बुझाउँदै मैथिली भाषाको गीत गाउँदा त्यसले त्यहाँ उपस्थित सबैलाई छोयो ।
हजारभन्दा बढी बालबालिकाको बीचमा दृष्टिविहीन विद्यार्थीले शिक्षा बिना जीवन अँध्यारो हुन्छ भन्दै चेतना जगाए । १० वर्षदेखि १२ वर्ष उमेरका रम्भाकुमारी मण्डल, सञ्जनाकुमारी शर्मा, दिनेशकुमार राम र गणेशकुमार चौधरीले जीवनमा अगाडि बढ्न शिक्षाको उज्यालो जरुरी हुने बताइरहँदा बालबालिकादेखि अभिभावकसम्मले ताली बजाए ।
यी विद्यार्थी राजविराजस्थित पब्लिक बिन्देश्वरी उच्च माविमा सञ्चालित दृष्टिविहीन कक्षामा अध्ययनरत छन् । त्यहाँ उनीहरु जस्तै सात जना दृष्टिविहीन बालबालिका पढ्छन् ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले उनीहरुले मर्मस्पर्शी गीत गाएर सबै बालबालिकालाई विद्यालय जान अभिप्रेरित गरेको भन्दै स्याबासी दिए । उच्च माविका प्रधानाध्यापक अरुण झाले विद्यालयमा विद्यार्थीलाई पाठ्यपुस्तक शिक्षाका साथै रुचिअनुसारको अतिरिक्त क्रियाकलापमा सहभागी गराएर प्रतिभा विकास गर्ने वातावरण रहेको बताए ।
प्रतिभा प्रष्फुटन गर्ने अवसर
बाल दिवसको अवसरमा जिल्ला बाल कल्याण समितिले आयोजना गरेको कार्यक्रममा बालबालिकाले आफूभित्र रहेको विभिन्न खुबी प्रदर्शन गर्ने अवसर पाए । कसैले गीत गाए भने कसैले सन्देशमूलक नाटक प्रस्तुत गरे ।
बालबालिकाले सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउनुपर्ने, छोरासँगै छोरीलाई पनि पढाउनुपर्ने सन्देश नाटक मार्फत दिए । बालबालिकाले प्रस्तुत गरेको नाटकबाट सबै अभिभावकको आँखा खोल्ने काम गरेको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत नवराज खड्काले बताए ।
कार्यक्रममा हाजिरी जवाफ, चित्रकला, दौड लगायत विभिन्न प्रतियोगिताका विजेता बालबालिकाहरुलाई पुरस्कृत गरिएको थियो ।