Thursday, 1 September 2016

सिंहदरबारका यी दुई दर्जन ‘शक्तिशाली’ कर्मचारी, जसले कामै नगरी तलब पाउछन्

काठमाडौं ।  राजनीतिक पहुँच, प्रभाव र रवाफ देखाउँदै विभिन्न दलका ट्रेड युनियनमा आवद्ध २४ जना निजामती कर्मचारीहरूले हाजिर र कार्यालयको कामै नगरी वर्षौंदेखि तलब र सुविधा लिँदै आएको खुलासा भएको छ ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनिनयनको निर्वाचन भएको महिनौं वितिसक्दा समेत ट्रेड युनियनका कर्मचारी नेताहरूले रवाफका भरमा कार्यालय नै नगई सुविधा लिँदै आएका हुन् ।अदालतको निर्णयसँगै आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको वैधानिकता बारेको विवाद तीन साताअघिमात्रै साम्य भई काम सुरू हुने चरणमा छ ।
तर, अवैध ट्रेड युनियनका कर्मचारीहरूले हाजिर र कार्यालयको कामै नगरी बर्षौंदेखि तलब र सुविधा लिँदै आएकोप्रति सरकारी निकायले काममा फर्कन निर्देशन दिनुबाहेक थप कुनै कदम चालेको छैन ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन भैसकेकाले आ–आफ्नो काममा फर्कन सामान्य प्रशासन मन्त्रालय र मुख्यसचिव सोमलाल सुवेदीले निर्देशन दिएका थिए । तर, उनीहरूले सो निर्देशनलाई समेत बेवास्ता गरी डुलेरै तलब र सुविधा लिएका छन् ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन भैसकेपछि दल सम्वद्व ट्रेड युनियनहरू स्वतः अवैध भएको भन्दै प्रधानमन्त्री र मुख्यसचिवले उनीहरूलाई काममा फर्कन निर्देशन दिएका थिए ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार हाजिर नगरी तलब लिनेमा एमाले सम्वद्व नेपाल निजामती कर्मचारी संगठन, कांग्रेस सम्वद्ध नेपाल निजामती कर्मचारी युनियन ९संघ० र माओवादी केन्द्र सम्वद्व नेपाल राष्ट्रिय कर्मचारी संगठन छन् ।

त्यसै गरी, मधेशवादी सम्वद्व मधेसी निजामती कर्मचारी मञ्च, नेकपा माओवादी सम्वद्व नेपाल राष्ट्रिय कर्मचारी संगठन, वैद्य माओवादी, सवारी चालक सम्वद्व राष्ट्रसेवक कर्मचारी संगठन र श्रेणी विहीन स्वतन्त्र कर्मचारी मिलन केन्द्रमा आवद्व कर्मचारी प्रतिनिधिले पनि हाजिर नगरी तलब सुविधा लिँदै आएका छन् ।

यसरी कार्यालयमा उपस्थित नहुने र हाजिर पनि नगरी सुविधा लिनेहरूमा नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे र विभिन्न दलमा आवद्व कर्मचारी संगठनका प्रतिनिधिहरू भवानी दाहाल, सिन्धुकुमारी पाण्डे, गणेश बस्याल, गीता लामिछाने छन् ।
त्यसै गरी, हरिबहादुर रावल, उमेश यादव, अम्वादत्त भट्ट, मोहनमान सुवार, अम्विका धमला, प्रभाप्रसाद साह, समिता श्रेष्ठ, शान्ता ओझा, विनोदकुमार सिंह, रिता यादव, सुजिताकुमारी रावत, दुर्गा सिग्देल मेहता, कृष्ण भण्डारी, रामेश्वर ढुंगाना, रामहरि कार्कीलगायतले पनि हाजिर नगरी तलब वुझ्दै आएका छन् ।

हाजिर र कामै नगरी तलब खान मिल्छ रु जवाफमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष घिमिरेले भने, ‘मिल्छ । म स्वयंले पनि हाजिर नगरी तलब वुझ्दै आएको छु ।’ ‘सरकारले नै त्यस्तो नियम बनाएको छ । हाम्रो के दोष रु’ उनले प्रतिप्रश्न गरे ।

२०६५ सालमा पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले विभिन्न ट्रेड युनियनमा आवद्व कर्मचारीलाई हाजिर नगरी तलब सुविधा लिन सक्ने निर्णय गरेको थियो । उक्त निर्णयमा एउटा निजामती कर्मचारी संगठनका पाँच जना केन्द्रीय पदाधिकारीले काम नगरी तलब बुझ्न सक्ने सुविधा हुने उल्लेख छ ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन भएसकेपछि पुरानै निर्णयलाई देखाउँदै काम नगरेरै तलब खान मिल्छ रु
यो प्रश्नको जवाफमा घिमिरेले थपे, ‘यदि नमिल्ने हो भने सरकारले आफ्नो पुरानो निर्णय खारेज गरोस् र नयाँ नियम बसोलोस्, हामी मान्न तयार छौँ,’ उनले भने । ‘प्यार –प्यार गरेर मात्र हुँदैन, नियम बसाल्नेतर्फ ध्यान दिनुपर्छ । सरकारी नियम मान्न तयार छौँ ।’ उनले थपे । घिमिरेले कर्मचारी ट्रेड युनियनमा आवद्व मुस्किलले १० कर्मचारीले मात्र काम नगरी तलब लिने गरेको स्वीकार गरे ।

कर्मचारीको सरुवा बढुवाको समय आउँदा सरुवाको लाइन मिलाउन, ठेक्का पट्टा मिलाउन, भाषण गर्न उनीहरूको दौडधुप हुने गरेको एक सचिवले बताए ।

दलैपिच्छे कर्मचारी ट्रेड युनियन हुँदा प्रशासनयन्त्र कमजोर भएको, राजनीतिकरण भएको, भ्रष्टाचार बढेको निष्कर्ष निकाल्दै सरकारले दुई महिनाअघि आधिकारिक ट्रेड युनियनको निर्वाचन गरेको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us