Saturday, 3 September 2016

हरितालिका तीज हिन्दु नारीले व्रत बसी मनाउँदै

काठमाडौं ।  हिन्दु नारीको महान पर्व हरितालिका तीज, आज हर्षोउल्लासका साथ मनाइँदैछ । हरितालिकाको अबसरमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुँईचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी, गोकर्णको गोकर्णेश्वर सुनसरीको पिण्डेश्वर लगायतका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुँईचो लागेको छ । पाशुपत क्षेत्रमा बर्षाका बाबजुत दर्शन गर्नेको लामो लाइन लागेको छ । 

हरितालिकाको अबसरमा सरकारले आज महिलालाई सार्बजनिक विदा समेत दिएको छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वासमा नारीहरु मनोकामना पुरा हुने अकांक्षा सहित व्रत बस्ने गर्दछन् । आजको दिन अविवाहित महिलाले सुयोग्य पति र विवाहित महिलाले पतिको सुस्वास्थ्य, दिर्घायु र पारिवारिक खुसीको कामना गरी निराहार व्रत बस्ने प्रचलन छ । 

 हरितालिकाको दिन अटल सौभाग्यको प्रतिकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । भाद्र शुक्ल द्वितियाका दिन गएराति दर खाई आज तृतीयाका दिन सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।  

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us