Wednesday, 28 September 2016

सरकारी कार्यालयबाटै खैरो हेरोइनको धन्दा

काठमाडौं । औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग परिसरभित्र रहेको स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ। विभागको बिजुलीबजारस्थित पानस फर्मास्युटिकल्स प्रालि लेखेको स्टिलको दराजभित्र २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने डिजिटल तराजु फेला परेको खबर आजको राजधानीमा छापिएको छ । लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनको कारोबारीको आरोपमा सुनिल गुप्तालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।


‘विभागकै परिसरमा रहेको दराजभित्र लागूऔषध फेला परेको यो पहिलोपटक हो’, ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी)जयबहादुर चन्दले भने । उनका अनुसार औषधि कम्पनीहरूले विभाग परिसरमा औषधि परीक्षणका लागि राख्ने छुट्टै लकरसहितको दराजमा गुप्ताले चरेस रहेका बताएका थिए ।

गुप्ता पानस फर्मास्युटिकल्सका कामदार हुन् । बयानमा उनले विभागभित्र रहेको स्टिलको दराजमा हेरोइन राखेको बताएपछि ब्युरो टोली बुधबार विभाग पुगेको थियो । गुप्ताले बताएअनुसार विभागभित्र रहेको स्टिलको दराज खोलेर हेर्दा प्रहरीले हेरोइन र त्यो जोख्न प्रयोग हुने तराजु फेला पारेको थियो ।

ब्युरोका डीआईजी जयबहादुर चन्दका अनुसार प्रारम्भमा काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा सूर्य संगत पक्राउ परेका थिए । उनको साथबाट ७ ग्राम खैरो हेरोइन र ४ हजार रुपैयाँ फेला परेको थियो । सोधपुछमा संगतले बाँकेका ३२ वर्षीय गुप्तासँग हेरोइन किनेको खुलेको थियो । गुप्ता पानस फर्मास्युटिकल्सका लाइजन अफिसर हुन् ।

गुप्तासँग हेरोइन किनेका प्रकाश जोशी, सद्दाम अन्सारी र वीरेन्द्र सिंहलाई प्रहरीले गौशालाको साउथ एसियन गेस्ट हाउसमा छापा मारी पक्राउ गरेको थियो । उनीहरूका साथबाट ९ ग्राम हेरोइन र ६४ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us