Friday, 9 September 2016

हाजिर गरेर सांसदहरु एनजिओको गोष्ठीमा, कोरम नपुगेर संसद् स्थगित

काठमाडौं । शुक्रबार संसद्को बैठक सांसद्हरुको गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । बैठकमा उच्च अदालत गठनलगायतका विधेयकसहितको महत्वपूर्ण कार्यसूची भए पनि नियमावलीअनुसार आवश्यक पर्ने न्यूनतम संख्या नपुगेपछि सभामुखले दिउँसो एक बजे बैठक अचानक स्थगित गर्नुपर्‍यो। गणपूरक संख्याका लागि १४९ जना सांसद्को उपस्थिति आवश्यक पर्नेमा शुक्रबार संसद्ंमा जम्मा १२६ जना सांसदहरु थिए।

स्रोतका अनुसार २४० जना सांसदहरु संसद्‌मा हाजिर गरेर एनजिओको गोष्ठी तथा अन्य निजी काममा बाहिर गएका थिए। संसद्‌मा १२६ जनाको उपस्थिति देखिए पनि ३६६ जना सांसद्ले हाजिरीमा दस्तखत गरेका छन् । पार्क भिलेज रिसोर्टमा एनडीआइले आयोजना गरेको गोष्ठीमा सहभागी हुन संसद् भवनबाटै दुईवटा गाडीमा सांसदहरु बाहिरिएका थिए।

बिहान ११ बजे सुरु भएको बैठकमा शू्न्य समयमा बोल्ने क्रम सकिएपछि नियमित कार्यसूचीमा प्रवेश गर्न लाग्दा गणपूरक संख्या नरहेको प्रश्न उठेको थियो। त्यसपछि सभामुखले संख्या गणना गर्न निर्देशन दिएकी थिइन् । ५ सय ९५ संख्या रहेको संसद्मा बैठकले कुनै निर्णय लिन वा प्रस्ताव पास गर्नका लागि १४९ सांसद आवश्यक पर्नेमा शुक्रबार गणना गर्दा जम्मा १२६ सांसदहरु उपस्थित थिए । कोरम नपुगेपछि सभामुखले आइतबार सम्मका लागि बैठक स्थगित गर्नुपर्‍यो।
पछिल्लो दिनमा संसद्‌मा सांसदहरुको उपस्थिति पातलो हुँदै गएको छ । यसबारेमा सभामुखले पटकपटक दलका सचेतकमार्फत चासो राख्दै आएकी छिन् भने संसद्मा नियमित उपस्थित हुने सांसदहरुले यसबारेमा आवाज उठाएका छन् । खासगरी प्रमुख दलका शीर्ष तथा माथिल्लो तहका नेताहरु संसद्मा भन्दा बाहिरका गोप्य वार्ता तथा बैठक एवं अन्य गोष्ठी समारोहमा बढी व्यस्त हुने भएकोले सांसदहरु पनि संसद् जाने क्रम घट्दै गएको छ । संसद्को बैठकभन्दा विदेश भ्रमण, जिल्ला भ्रमण र एनजिओको गोष्ठीतिर सांसदहरुको बढी रुचि र प्राथमिकता देखिएको छ।
संसद् भवन पुगे पनि हाजिर गरेर टाप ठोक्ने प्रवृत्ति बढेको छ । संविधान कार्यान्वयनका लागि संसद्लाई क्रियाशिल बनाएर भटाभट विधेयक पारित गर्नुपर्नेमा सांसद्हरु नै यसमा उदासिन देखिएका छन् । हाजिर गरेर टाप कस्ने र हाजिरै नगर्ने सांसदहरुले पनि तलब भत्ता तथा अन्य सुविधा भने नियमित रुपमा लिने गरेका हुन्छन्। २०७४ माघ ७ गते भित्र स्थानीय, प्रादेशिक र संसदीय चुनाव गरेर संविधान कार्यान्वयन गर्न सयभन्दा बढी कानुन बनाउनुपर्ने आवश्यकता भए पनि संसद्‌मा त्यो गम्भीरता देखिएको छैन।

स‌ंसद् चलेको बखत गोष्ठी तथा भ्रमणमा नजान सभामुख ओनसरी घर्तीमगरले पटकपटक सांसदहरुलाई व्यक्तिगत रुपमा र दलगत रुपमा पनि सचेत गराउँदै आए पनि सांसदहरु अटेर गर्दै संसद् बैठकमा अनुपस्थित हुने र हाजिर भए पनि बाहिरिने गरेका छन्। सांसदहरुले यो प्रवृत्तिलाई रोक्न सभामुखले दलका नेताहरुसँग बसेर गम्भीर परामर्श गर्ने तयारी गरेकी छिन्।

स‌ंसद् चलेको बखत गोष्ठी तथा भ्रमणमा नजान सभामुख ओनसरी घर्तीमगरले पटकपटक सांसदहरुलाई व्यक्तिगत रुपमा र दलगत रुपमा पनि सचेत गराउँदै आए पनि सांसदहरु अटेर गर्दै संसद् बैठकमा अनुपस्थित हुने र हाजिर भए पनि बाहिरिने गरेका छन्। सांसदहरुले यो प्रवृत्तिलाई रोक्न सभामुखले दलका नेताहरुसँग बसेर गम्भीर परामर्श गर्ने तयारी गरेकी छिन्। सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने, ुयसलाई सभामुखले गम्भीरतापूर्वक लिनुभएको छ।ु

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us