वीरगन्ज । सीडीओ साब हजुरले केहि गर्न सक्दिन भन्नुस् हाम्रो नेपाली भूमीको आफै रक्षा गर्छौ । पुलिस प्रशासनले सक्दिनँ भनेर हात उठाओस्, हामी हाम्रो भूमिआफू मरेर भए पनि जोगाउँछौं, पर्सा पिडारीगुठीको पिपरडारीकी जितनी देवीले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई यसो भन्दै थिइन् ।
भारतीयहरुले पटक पटक नेपाली भूमीमै छिरेर कुटपिट गर्न थालेपछि असह्य भएर शुक्रबार जिल्ल प्रशासन कार्यालयमा पिडारीगुठीबाट जितनी देवीसंगै आएका करिब ४० जना पीडितहरु मध्येकै झमपतिया देवी थरुनीले पनि आक्रोश पोख्दै भनिन्, भारतीयले हाम्रो भूमी मिचेका छन्, खोलामा नहुाउन, शौच गर्न जाँदा पनि हाम्रा चेलीबेटीहरुलाइ भारतीयहरुले छेडखानी गर्छन, उनिहरुका कारण हाम्रो चेलीबेटीको इज्जत प्रतिष्ठा जोगाउनै गार्हो भइसक्यो ।
सीमावर्ती भारतको भंगाहा गाँउबाट पर्साको पिडारीगुठीमा रहेको ओरीया खोलामा बालुवा तस्करी गर्न आउने भारतीय तस्करहरुले पटक पटक कुटपिट गर्न थालेपछि पिडारीगुठीवासी न्यायको गुहार माग्न शुक्रबार जिल्ल प्रशासन कार्यालयमा आएका थिए ।
भारतीयहरुले नेपाल भारत सीमा रहेको सीमा स्तम्भ भन्दा एक किलो मिटर भित्र नेपाली भूमीमा रहेको ओरीया खोलाबाट बालुवा उत्खनन् गर्दा नेपालीहरुले रोक्ने गरेका छन् । बालुवा उत्खनन् रोक्न जादा भारतीय गाँउ भंगाहाका तस्कर र स्थानीयले नेपाली नागरिक र सुरक्षाकर्मी माथि आक्रमण गर्दै आएका छन् ।
गत बुधबार पनि बालुवाको उत्खनन् रोक्न जादा भारतीयहरुले सशस्त्र प्रहरी हवल्दार राजकुमार माझी , पिडारीगुठीका प्रभु चौधरी र शम्भु रामलाइ कुटेर घाईते बनाएका थिए । भारतीयहरुको कुटाइबाट सशस्त्र प्रहरी हवल्दार माझी रक्ताम्य भएका थिए भने रामको देब्रे खुट्टानै भाँचिएको छ । उनको वीरगन्जमा उपचार भइरहेको छ ।सशस्त्र प्रहरीले चार राउण्ड अश्रु ग्याँस प्रहार गरेपछि मात्र भारतीयहरु खोलाबाट भागेका थिए ।
खोलाको बाढीले कटानको गरेको लालपुर्जा भएकै जग्गामा भारतीयहरुले उत्खनन् गरेर बालुवा तस्करी गर्दै आएको पिडारीगुठी ३ की हुमो देवीले बताइन् ।