Friday, 2 September 2016

राजावादीले राखेको वीरेन्द्रको सालिक प्रहरीले राति हटायो

काठमाडौं ।  राजावादीहरुले नेपालगन्जको धम्बोझी चोकमा बिहीबार पुनस्स्थापना गरेको पूर्व राजा स्वर्गीय विरेन्द्र शाहको अर्धकदको सालिक प्रहरीले राति हटाएको छ । 

सर्वदलीय बैठकले सालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा सालिक हटाएको हो । ‘झण्डा राख्ने भनेर झुक्याएर सालिक राखियो । त्यसले तनाब उत्पन्न भएपछि सर्वदलीय बैठकले हटाउने निर्णय लिएपछि प्रहरीले झिकेर सुरक्षित ठाउ‘मा राखेको छ’, प्रहरी उपरीक्षक टेकप्रसाद राईले भने ।  

सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरी तत्कालै हटाउन खोजेको थियो । तर, स्थिति तनावग्रस्त भएपछि हटाइएको थिएन । भीड हटाउन प्रहरीले दुई पटक सामान्य लाठीचार्ज गर्नुपरेको थियो । त्यस क्रममा केही सामान्य घाइते पनि भए । 

सालिक पुनस्स्थापना गर्न राप्रपा नेपाल, पूर्व राजावादी र शिव सेना सम्बद्ध युवाहरु बिहानै जुटेका थिए । प्रहरी उपरीक्षक राईले भने, ‘विवाद झिक्ने र शान्ति सुरक्षा खल्बल्याउने गरी कसैले काम गर्नुहु‘दैन ।’       

उक्त चोकमा रहेको वीरेन्द्रको पूर्ण कदको सालिक ०६२र०६३ को जनआन्दोलनताका भत्काइएको थियो । खाली चोकमा कसको सालिक राख्ने भन्नेमा दलहरु विभाजित भएपछि राष्ट्रिय झण्डा गाडिएको थियो । राम्ररी नगाडिएकाले पटक–पटक झण्डा ढलेपछि ‘राष्ट्रवादी युवा’को नाममा बिहीवार झण्डा गाड्ने जानकारी प्रहरीलाई गराएर सालिक राखिएपछि विवाद उत्पन्न भएको थियो । 


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us