Thursday, 8 September 2016

मरिन्छ भन्ने डर हुँदाहुँदै पनि अफगानिस्तान लागे सात नेपाली

काठमाडौं ।  सात जना नेपाली युवा सरकारको आँखा छलेर अवैध बाटो हुँदै द्वन्द्वग्रस्त देश अफगानिस्तान हान्निएका छन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बेलुका ८ बजे नयाँ दिल्ली उडेका हुन् । दिल्लीमा कागजपत्र मिलाउन ३ दिन लाग्ने र त्यहाँबाट दुबई हुँदै बहराइन पुगेपछि थप कागजात बनाएर एक हप्तापछि अफगानिस्तान पुग्ने विकास खड्काले बताउनुभयो । दिल्ली जानुअघि उहाँले भन्नुभयो ‘हामीले श्रम स्वीकृति यहाँबाट लिने होइन, कागजपत्र मिलाउँदै बहराईनबाट लिने हो, पहिलो पटक जाँदा पनि यहाँबाट दिल्ली, त्यसपछि दुबई र दुबईबाट अफगानिस्तान पुगेका थियौं ।’ 

गएको असार ६ गते अफगानिस्तानमा भएको बम विस्फोटमा १४ नेपालीले ज्यान गुमाएपछि लगत्तै असार ९ गतेको मन्त्रीपरिषद बैठकले अफगानिस्तान जान प्रतिबन्ध लगाएको थियो । त्यसपछि २० असारमा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रिपरिषदको निर्णय विपरीत नहुने गरी पूर्व श्रम स्वीकृति लिएका नेपाली कामदारलाई आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान पाउने निर्णय गरेको थियो । तर ती ७ जना युवा यसअघि पनि दिल्ली, दुबई हुदै पर्यटक भिसामा अफगानिस्तान गएर ६ महिनाअघि नेपाल फर्किएका थिए ।

उनीहरुसँगै नेपाल फर्किएका पोखराका विजय गुरुङ, कोटेश्वरका अशोक सापकोटा र झापाका अशोक गिरीले भने अफगानिस्तान नजाने मनस्थिति बनाएका छन् । अफगानिस्तानमा नेटो सैनिकसँग मिलेर तालिवानीसँग लड्नुपर्ने विकास खड्काले बताउनुभयो । ‘काल आए घरकै ढोकाबाट लडेर पनि मरिन्छ, काल नआई मरिन्न हेर्नुस्, द्वन्द्वकालमा माओवादीसँग कति भिडन्त गरियो, यसअघि तालिवानीसँग पनि कयौं पटक लडें त्यसैले मलाई मृत्युसँग डर लाग्दैन’ दिल्ली जानुअघि खड्काले भन्नुभयो ।

नेपाली सेनाको हवल्दार पदबाट राजीनामा दिएर अफगानिस्तान गएका खड्का त्यहाँको माइजर भन्ने ठाउँमा २६ महिना बसेर नेपाल फर्किनुभएको थियो । द्वन्द्वग्रस्त देश अफगानिस्तानमा तालिवानले सन् २००१ यता सरकारविरुद्ध आतंक मच्चाउँदै आएको छ । अफगानिस्तान असुरक्षित देश हो भन्ने थाहा हुँदाहुँदै पैसाको लोभमा ज्यानको बाजी थापेर गैरकानूनी बाटो बाट वर्षेनी धेरै नेपाली अफगानिस्तान गैरहेका छन् । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us