Thursday, 8 September 2016

मिसकलले पार्वतीलाई बनायो घर न घाटको

काठमाडौं । पोखरा बाटुलेचौर बस्दै आएकी २४ वर्षीया पार्वती थापाले न्याय नपाएको गुनासो गरेकी छन् । आफू अन्यायमा परेको भन्दै गत वैशाखमा कालीमाटी महिला प्रहरी सेल पुगेकी उनी प्रहरीले समेत सत्यतथ्य खोज नगरी आफूलाई अन्याय भएको भन्दै मिडिया गुहार्दै हिँडेकी छन् ।

रङ नम्बरबाट आएको मिसकलबाट आज घर न घाटको अवस्थामा पुगेकी पार्वती थापाले बताइन् । कुरो ६ वर्ष अगाडिको हो । जतिबेला उनले भर्खर–भर्खर मोबाइल चलाउन सिक्दै थिइन् । सामान्य फोन सेटमा गाँउकै एक दाजु नाता पर्नेको नामबाट सिमकार्ड निकालेर फोन चलाउन थालेकी उनको मोबाइलमा साउदी अरबबाट मिसकल आयो ।

त्यो दिन छिमेकीको घरमा सत्यनारायणको पूजा थियो । उनी शिवजीकी भक्त थिइन् । सत्यनारायणको पूजा गरीवरि बेलुका भजन गाउने, रमाइलो गर्ने कार्यक्रम थियो । उनी पनि रमाइलोमा सहभागी भइन् । फोन कोठामै थियो । राति अबेर कोठा फर्कंदा उनको फोनमा सोही नम्बरबाट धेरै पटक मिसकल आएको थियो ।

उनलाई खुल्दुली लाग्यो । को रहेछ भनेर मिसकल फर्काइन् । उताबाट फोन आयो । कुरा हुँदै गयो । चिनजान भयो । उताबाट बोल्ने मान्छेले आफ्नो घर खोटाङ र आफू तामाङ थरको भएको बतायो । अब उनीहरुबीचमा दैनिकजसो कुरा हुन थाल्यो । केटाले एक दिन पार्वतीलाई स्काइप भिडियोमा देखादेख गर्ने प्रस्ताव राख्यो ।

पार्वती पनि साइबर पुगिन् । भिडियोमा देखादेख भयो । केटाको कपाल निकै लामो र कानमा मुन्द्री लगाएको देख्दा पार्वतीले डरले भिडियो बन्द गरिन् । अनि तत्कालै फोनमा कुरा भयो । केटाले सोध्यो, ‘भिडियो किन बन्द गरेकी रु’

डर लाग्यो । तपाईं गुन्डाजस्तो हुनुहुँदोरहेछ । पार्वतीले जवाफ दिइन् । ‘होइन तिमी भन्छौ भने म कपाल काट्छु । मुन्द्रा निकाल्छु । खासमा म तिमीलाई मन पराउँछु पार्वती,’ केटाले भन्यो । अर्को शुक्रवार फेरि भिडियोमा भेट गर्ने सल्लाह भयो ।

‘अर्को शुक्रवार ऊ कपाल काटेर मुन्द्रा निकालेर आएको थियो,’ पार्वतीले ती दिन सम्झिइन्, ‘मैले त्यही दिनबाट उसलाई विश्वास गरें । यो नै मेरो जीवनको सबैभन्दा ठूलो गल्ती हुन पुग्योे ।’ उनी एकछिन रोकिइन् । आखाँ पुछिन् । अनि बिस्तारै बोल्न थालिन्, ‘मलाई लाग्यो– यो मान्छेले मैले जे भने पनि मान्ने रहेछ । उसले जे भन्छ, त्यो गर्दो रहेछ । सत्य बोल्दोरहेछ । तर आज आएर थाहा भयो म कति धेरै भ्रममा रहेछु ।’

त्यसपछि उसले प्रेम प्रस्ताव राख्यो । पार्वतीले स्वीकार गरिन् । उसले त्यसपछि आफ्नो घर काठमाडौंको ठमेलमा रहेको नाम कृष्णराज भण्डारी रहेको बतायो । साउदीबाट फर्केपछि बिहे गर्ने सहमति भयो । उनलाई लाग्यो– सत्यनारायण पूजाको दिनमा शिवजीले पार्वतीको मनको कुरा सुनिदिएछन् । शिवजस्तै राम्रो केटो उनको जीवनमा पठाइदिए । यस्तो सोचेर उनी मख्ख परिन् ।

दिनहरु बित्दै गए । करिब दुई वर्षपछि ऊ नेपाल फर्कियो । तर, पोखरामा रहेकी पार्वतीलाई भेट्न गएन । पार्वती समय मिलाएर उसलाई भेट्न काठमाडौं आइन् । तर, उसले घरपरिवारको दबाब भएकाले बिहे गर्न मानेन । घरपरिवारले धेरै सम्पत्ति भएकी र पढेलेखेकी केटी बिहे गरिदिन चाहेका थिए ।

एक दिन उसले मन्दिरमा बिहे गर्ने प्रस्ताव गर्यो । पार्वतीले मानिन् । मन्दिरमा कृष्णले पार्वतीलाई सिन्दुर लगाइदियो । मनले विश्वास गरेर पोखराबाट कृष्णकै भरोसामा काठमाडौं आएकी पार्वतीले कोही कसैलाई बिहेको साक्षी बनाउन आवश्यक ठानिनन् । उनी बेहुली बनेर कृष्णको घर पुगिन् । उनलाई घरमा स्वागत गरिएन । अपमान गरियो । घरका मानिसले स्वागत गर्लान् भन्ने पनि लागेको थिएन तर कृष्ण बेइमान र धोकेबाज भएर निस्कलान् भनेर उनले कल्पना पनि गरेकी थिइनन् । उनले विश्वास गरेको कृष्ण धोकेबाज भएर निस्कियो ।

उनी पोखरा फर्किन् । कृष्ण पनि उनलाई छाड्न गए । केही दिनपछि कृष्ण पुनः साउदी अरब जाने भएपछि उसकी आमाले नै पार्वतीलाई बोलाइन् । एउटा सर्तमा उनीहरु पार्वतीलाई बुहारी स्वीकार्न तयार भए । दुई वर्षका लागि छोरा विदेश जाने र बुहारीले नेपालटारमा बस्दै आएकी आफ्नी वृद्धा आमाको स्याहार गर्नुपर्ने सर्त कृष्णकी आमाको थियो । पार्वतीले बिहे गरेर माइतै बस्नुभन्दा यो ठिकै छ भन्ने लाग्यो । उनी नेपालटारमा बूढीसासुको स्याहार गरेर बस्न थालिन् ।

करिब ६ महिनापछि एक दिन छिमेकी महिला आएर सोधिन्– यी बूढीको स्याहार गरेबापत कति तलब पाउँछौ नानी रु पार्वती छाँगाबाट खसेझैं भइन् । उनलाई बल्ल थाहा भयो– बुहारी भनेर होइन नोकर भनेर पो त्यो घरमा राखिएको रहेछ भनेर । त्यसपछि पोखरा फर्केर कृष्णको बाटो हेर्दाहेर्दै थाकेपछि गत वैशाखमा काठमाडौं आएर कालीमाटी प्रहरीको महिला सेलमा उजुरी हालिन् ।

प्रहरीको दबाबमा घर फर्केको कृष्णले आफ्नी आमा र आन्टीको सल्लाहमा उनीसँग बिहे नगरेको र उनलाई चिन्दा पनि नचिनेको बयान दियो । प्रहरी सेलका महिला प्रहरीले पार्वतीलाई कानुनी उपचार पाउने भए प्रशासनमा विवाह दर्ता गरेको कागज वा बिहेको फोटो लिएर आउन भनेका छन् । त्यो नभए उनले आफ्नो बाटो लाग्नुपर्ने र केटाले आफ्नो बाटो लाग्नुपर्ने कागज गराइदिने भनेको पार्वतीले सुनाइन् ।

‘यो सहरमा मेरो आफ्नो भन्नु कोही छैनन्,’ पार्वतीले भनिन्, ‘जसलाई सिंगो जीवन सुम्पिएँ । उसैले यसरी घात गर्यो । अब को भनेर बाँच्नु । समाजमा पनि मुख देखाउन लाज भइसक्यो । एक मनले त आत्महत्या गरौंजस्तो पनि लाग्छ ।’ तर, अठोट गरेकी छु, ‘म–एक्लै मर्दिनँ । मरेँ भने उसलाई पनि मारेर मर्छु । किनभने जसरी भए पनि उसलाई सजाय दिलाउँछु ।’

यो देशको कानुन कसका लागि हो रु उनले प्रश्न गरिन् । मैले अन्यायमा परेर न्यायको ढोका ढकढकाउँदै आउँदा पनि किन न्याय पाउन सकिनँ । प्रहरी गएर केटाको घरवरपर र एक वर्षसम्म म ती बूढीको घरमा कसरी दुःख पाएर बसें भनेर नेपालटार बूढीका छिकेमीलाई किन सोध्दैनन् रु

अब म न्याय पाउन कहाँ जाने रु उनको प्रश्न छ । निन्याउरो हुँदै उनले भनिन्, ‘मिडियाले सहयोग गर्छ कि भनेर रातोपाटी खोज्दै आएकी छु, मलाई न्याय दिलाइदिनुस् ।’ ९८२३६९०९९८ नम्बरको मोबाइल बोकेका उनका श्रीमान् भनिएका कृष्णराज भण्डारीसँग प्रतिक्रिया लिन खोज्दा उनले सबै कुरा ठाडै अस्वीकार गरे । उनले भने, ‘साथीको हिसाबले कुराकानी र सबै व्यवहार भएको हो । बिहे भएकोचाहिँ होइन ।’ अब के गर्नुहुन्छ त भन्ने जिज्ञासामा उनले भने, ‘कानुनले जे निर्णय गर्छ, त्यो स्वीकार्छु ।’

पुरूषप्रधान सामन्ती समाजमा हुर्किएका भण्डारीलाई थाहा छ– पार्वतीसँग बिहे दर्ता छैन र बिहेको फोटो पनि । प्रमाणविना कानुनले केही गर्न सक्दैन भन्ने थाहा पाएका भण्डारीहरु चोखो प्रेमको बदलामा आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका असहाय पार्वतीहरु यो समाजमा कति होलान् । लेखाजोखा गर्ने फुर्सद कसैलाई छैन । रातोपाटीले खबर छापेको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us