Friday, 16 September 2016

भारतले अझै स्वीकार गरेन नेपालको संविधान

नयाँदिल्ली । ददक्षिण छिमेकी भारतले गत वर्ष जारी भएको नेपालको संविधानलाई पुनःअस्वीकार गरेको छ । संविधान सबै पक्षको बनाउन नेपाल सरकारले गरेको प्रयासको भने भारत सरकारले सराहना गरेको छ।


भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको एकल र संयुक्त वार्ताहरूपछि हैदराबाद हाउसमा शुक्रबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानबारे खुलेर कुरा गरेनन् । उनले भारतले नेपालमा जारी भएदेखि नै राख्दै आएको पुरानै अडान दोहोर्‍याए । मोदी(दाहाल भेटघाटपछि २५ बुँदे संयुक्त वक्तव्य जारी भएको छ, जसमा संविधान कार्यान्वयनका लागि सरकारले गरेको प्रयासको स्वागत गरिएको छ । दाहाल र मोदीबीच आधा घन्टा एकल वार्ता भएको थियो ।

‘म विश्वस्त छु कि तपाईंको कुशल नेतृत्वमा समावेशी संवादका माध्यमबाट सबै पक्षको भावना समेट्दै नेपालले सफलतापूर्वक नयाँ संविधान कार्यान्वयन गर्नेछ, मोदीले दाहाललाई पत्रकार सम्मेलनमा भने । नेपालको नयाँ संविधान भएको वार्षिकोत्सव आउन चार दिनमात्रै बाँकी रहँदा दक्षिणी छिमेकका प्रधानमन्त्रीले नेपालको संविधानको स्वागतमा न शब्द खर्चिए, न वार्षिकोत्सवकै प्रसंग उठाए ।

पूर्वप्रधानमन्त्री ओलीको भारत भ्रमणमा नेपालको संविधानलाई ऐतिहासिक उपलब्धि भनेका मोदीले यसपालि संविधान जारी हुनुलाई ऐतिहासिक घटना भनेर टिप्पणी गरेका छन् । ‘दोस्रो संविधान संशोधनमार्फत मधेसका मुद्दा हल नभएसम्म भारतले नेपालको संविधानप्रति अडान फेर्ने अवस्था देखिएन, भ्रमण दलमा सहभागी एक उच्च अधिकारीले भने । भारतीय विदेश मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव एस जयशंकरले नेपालको नयाँ संविधान कार्यान्वयनबारे प्रधानमन्त्री मोदीलाई दाहालले जानकारी गराएको बताए ।

भारतले मधेसी दलले माग गरेअनुसार सीमांकनको सबालमा संविधान संशोधन आवश्यक रहेको बताउँदै आएको छ । अघिल्ला प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणमा भारतले संविधान संशोधनका लागि नेपालले स्पष्ट रूपमा समय तोक्नुपर्ने बुँदा संयुक्त वक्तव्यमा राख्न दबाब दिएपछि संयुक्त वक्तव्य जारी हुन सकेन ।

यसपटक प्रधानमन्त्रीको भ्रमणमा जारी संयुक्त वक्तव्यमा वर्तमान सरकारले सबै पक्षलाई मिलाएर लैजान गरिरहेको प्रयासको स्वागत गरिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us