बझाङ । सदरमुकाम चैनपुर बजारमै रहेका बादी समुदायलाई खानेपानीको निकै समस्या छ । सदरमुकामकै बासिन्दा १५ बादी परिवार गएको डेढ वर्षदेखि सेती नदी र बाउली खोलाको धमिलो पानी पिउन बाध्य छन् । ‘सेती नदी र बाउली खोलाको किनारमा दिसा पिसाब गरिरहेका हुन्छन्, दिशा पिसाब खोलामा मिसिन्छ, हामीले त्यही पानी पिउने गरेका छौँ’ केउडी बादीले बताउनु भयो । ‘आफ्नै अगाडी दिशा पिसाब बगेको देख्दा देख्दै पनि सेती नदी र बाउली खोलाको पानी नपिएर साध्य नै छैन’ जानु बादीले भन्नुभयो, ‘यदि सेती नदी र बाउली खोलाको पानी नखाने हो भने पानी नै पाइँदैन ।’
डेड वर्षअघि सम्म त खानेपानीको धारा थियो । डेढ वर्ष अघि सदरमुकाम चैनपुर बजारको सडक खन्ने क्रममा हाम्रा खानेपानीका पाइपलाइनहरु काटिए त्यसपछि धारामा पानी आउनै छोड्यो । ‘हुने खानेहरुले त खानेपानीका पाइप लाइनहरु फेरि जोडे हामीलाई त एक छाक टार्न त धौँ धौँ हुन्छ, पाइप किन्ने पैसा कहाँ बाट होस् रु’ केउडि बादीले भन्नुभयो, ‘सरोकरवाला निकायले कुनै चासो दिँदैनन् हामीहरु सेती नदी र बाउली खोलाको फोहोर पानी पिउन बाध्य छौँ ।’
‘सेती नदी र बाउली खोलाको किनार भरी दिसा नै दिसा देखिन्छ, तल माथि दिसा हुन्छ बिचमा आफूले नाक छोपेर पानी भर्नु पर्छ’ कक्षा ४ मा पढ्ने सुर्मा बादीले भनिन् । विद्यालयबाट आउने बित्तिकै खानेपानी लिन बादी समुदायका प्राय बालबालिका सधै सँगै जान्छन् । ‘एक्लै पानी लिन सेती नदीको किनारमा गए सेती नदी र बाउली खोलाले बगाउँछकी भन्ने डर लाग्छ’ सुर्माले भनिन् । ‘रुघा खोकी, आउँ परेर अस्पताल तथा मेडिकलमा गए खानेपानीको समस्या हो भन्दै सफा पानी खान डाक्टरले सुझाव दिनु हुन्छ तर आफ्नो टोलमा खानेपानीको यस्तो समस्या छ कसरी सफा पानी खानु रु’ जानु बादीले भन्नुभयो, ‘बिहान देखि बेलुकासम्म छाक टार्न कामको खोजी र बजारमा माग्दै हिँड्नु पर्छ, पानी ल्याउने काम केटाकेटीहरुले गर्छन् । आफू बजार, गाउँ घरमा हिँडे पनि चिन्ता घरतिर नै हुन्छ ।’
‘पटक पटक चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई खानेपानीको जोहो गरीदिन अनुरोध गरे पनि समितिका पदाधिकारीहरुले पाइपको जोहो गर्नुहोस् भन्नु हुन्छ, कहाँबाट पाइपको जोहो गर्ने र’ पदम बादीले भन्नु भयो। चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सहसचिव दिपक बहादुर ओलीले बादी समुदायका लागि झण्डै ४ सय ५० मिटर पाइप आवश्यक भएको र समितिमा पाइप नभएकाले समस्या भएको बताउनुभयो ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख शिव प्रसाद सापकोटाले भने अहिले जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयमा पाइप नभएको र पाइप आएपछि उपलब्ध गराउने बताउनु भयो ।