Saturday, 3 September 2016

युवतीले नेपाल घुम्न बोलाएर अपहरण गरेपछि...

पोखरा । भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्सिद अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो । कसैले घर कहाँ भनेर सोध्दा उनी भन्न सक्थे, ुजुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन हो, त्यही मेरो हो । सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिल्यै हेक्का भएन ।

त्यो घर जहाँ उनी मस्तको निद्रा निदाउँथे र आरामको जिन्दगी बाँचिरहेका थिए । यस वर्ष त्यसैको कारण झन्डै उनको ज्यान गएन । उनको धनदौलत देखेर आरिस गर्ने छिमेकीको योजनामा बुनिएको प्रेमको नाटकमा परी अपहृत अहमद मुस्किलले बाँचेका छन् । भैरहवाकी एक युवतीसँग फोनैफोनमा चिनजान भएर उनी यसै साता घुम्न पोखरा आएका थिए । त्यतिखेर मात्रै उनी छाँगाबाट खसे जब उनलाई युवतीले आफ्नो घर हो भनेर लगेको ठाउँमै थुनिनुपर्‌यो ।

भदौ १२ गते उनी लेखनाथ नगरपालिका ८ सिसुवामा अशोक अधिकारीको घरको एक कोठामा बन्धक बने । झ्यालबाट झरेर निस्कँदा चोरको बात लाग्यो र प्रहरीकहाँ पुर्‌याइए । प्रहरीले तलासी लिएपछि बल्ल खुल्यो, उनी त अपहरणमा परेका रहेछन् । यता उनी कोठामा थुनिएका थिए, उता उनका दाजुसँग एक करोड रुपैयाँ माग्दै फोन पुगिसकेको थियो । नदिए मार्ने धम्की दिएका रहेछन्, कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि बज्राचार्यले भने ।

स्रोतका अनुसार भैरहवाबाट फोन गर्ने नेपाली युवतीले भेटघाट र घुमघामको बहानामा उनलाई पोखरा बोलाइन् । उनी पनि युवती भेट्ने लालसाले आए । 

ती युवतीलाई परिचालन गरेका उनकै छिमेकी र मधेसी मूलका नेपालीले लेखनाथमा अशोक अधिकारीको घरमा डेरा लिइसकेका थिए । मार्बलको काम गर्ने भनेर परिचय दिएका उनीहरूले घरबेटीलाई पहिल्यै बैना पनि बुझाएका थिए । बैना बुझाएको भोलिपल्टै त्यो डेरामा लगेर अहमदलाई थुनिएको थियो । कास्की प्रहरीले अहमद अपहरणका योजनाकार उनका छिमेकी र नेपाली अरू युवालाई समातिसकेको छैन । अहमदलाई पोखरासम्म डाक्न प्रयोग भएको गाडीका चालक भने कास्की प्रहरीको फन्दामा परिसकेका छन् ।

अपहरणमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिक साहाबुद्धिन कुसेरीलाई पक्रेको हो । उनको साथबाट प्रहरीले एक थान पेस्तोल पनि बरामद गरेको छ । खोजतलास गर्दा प्रहरीले त्यो डेराबाट मेड इन युएसए उल्लिखित पेस्तोल फेला पारेको हो ।

डीएसपी बज्राचार्यका अनुसार स्थानीय अशोक अधिकारीको घरमा नेपालको मधेसी मूलका एक र अर्का भारतीय नागरिकले शुक्रबार डेरा लिएका थिए । ुशुक्रबार डेरा लिए, शनिबार गएर बैना दिए, आइतबार मान्छे अपहरण गरेर लगी बन्धक बनाएु, डीएसपी बज्राचार्यले भने, मार्बलको काम गर्ने मान्छे हौं भनेर डेरा लिएका रहेछन् । डीएसपी बज्राचार्यका अनुसार अपहरणकारीले एक महिनाअघिदेखि योजना बनाएका थिए । सोहीअनुसार अहमदलाई उनीहरुले पोखरा घुम्न र यतै कुराकानी गर्न बोलाएर अपहरण गरेको बज्राचार्यले बताए । भदौ ११ गते पोखरा आएका अहमद भोलिपल्टै बन्धक बनाइएका थिए र पर्सिपल्ट मुक्त भएका थिए ।

प्रहरीले साहाबुद्धिन कुसेरीलाई थप अनुसन्धानका लागि थुनामा राख्न कास्की जिल्ला अदालतबाट १७ गते अनुमति लिइसकेको छ । उक्त घटनामा संलग्न नवलपरासी कावासोती ११ बस्ने वर्ष २१ का अरुण घलेलाई रूपन्देहीबाट पक्राउ गरी कास्की प्रहरीमा ल्याइसकिएको छ । अहपरणका मुख्य योजनाकारको खोजी गरिरहेको जानकारी पनि डीएसपी बज्राचार्यले दिए ।

दुई वर्षअघि पनि पोखरामा घुम्न बोलाएर अपरहण गर्ने भारतीय नागरिक पक्राउ परेका थिए । भैरहवानजिकको भारतीय सीमा सहर नौतनहवाका अमृतपाल सिंह र गुरुदीपपाल सिंहलाई लेकसाइडको होटलमा बन्धक बनाएर अपरहणकारीले ५० लाख रुपैयाँ फिरौती मागेका थिए । अंग्रेजी नयाँ वर्षको मौकामा पोखरा घुम्न आएका उनीहरूलाई नौतनहवाकै राजेन्द्र कसोधन, महाजन गुप्ता र राजेश कसोधनले नेपाली युवाहरूसमेत अपहरण गरेका हुन् । त्यतिबेला होटललाई चारैतिरबाट घेरा हाली प्रहरीले अपहृतको उद्धारसँगै पीडकलाई पक्रेको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us