काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापा व्यस्तताका कारण अस्वस्थ भएका छन् । उनको पेट र छातीमा केही समस्या देखिएपछि उपचारका लागि ग्राण्डी अस्पताल पुगेका थिए । धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थापा चेकजाँच गरेर आवश्यक परामर्श लिएपछि घर फर्किएको अस्पताल स्रोतले जनाएको छ ।
विभिन्न बैठक तथा कार्यक्रममा सहभागी हुनेक्रममा व्यस्त भएका थापालाई आराम नपुग्नुका साथै खानपानमा ध्यान नपुगेर स्वास्थ्य समस्या आएको चिकित्सकको भनाई छ । अहिले थापालाई ग्याष्टिक बढेको र केहिदिन घरमै आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । चिकित्सकको सुझाव पछि बिहीबारका लागि तय भएका सम्पूर्ण कार्यक्रम रद्द गरेर मन्त्री थापा आराम गर्न घरमै बसेका छन् ।
मुटु दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आज दिनभर व्यस्त रहने थापाको कार्यतालिका थियो । बुधबार नेपालगञ्जमा भएको समीक्षात्मक गोष्ठिमा सहभागी हुन पुगेका थापालाई त्यहीदेखि पेट दुखिरहेको थियो ।