Sunday, 25 September 2016

मुगुका स्वादिला स्याउहरु बजार नपाएर गाईभैसीका कुँडो बने

काठमाडौं लगायत देशभरका शहर बजारमा विदेशी स्याउको हालीमुहाली छ । तर आफ्नै मुलुक भित्र फलेका स्याउहरु भने बजार नपाएर विचल्ली बनिरहेका छन् । विशेषत नेपालको हिमाली क्षेत्रमा फलेका स्याउको स्वाद नै विछट्टै मीठो मानिन्छ र सस्तो पनि । तर आम नेपालीका लागि नेपालकै हिमाली क्षेत्रहरुको स्याउ ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ भने झै भएको छ भने स्याउ फलाउने किसानहरु चिन्तामा डुबेका छन् ।

नेपालमा स्याउका लागि उर्वर भूमि मानिएको कर्णाली अञ्चल त्यसमाथि पनि मुगुका स्याउहरु अहिले बोटमै कुहिने अवस्थामा पुगेका छन् । मुगु जिल्लाको सबै भन्दा बढी स्याउ उत्पादन हुने क्षेत्र मानिएको कार्कीबाडाको ताल्चा ,सोरुको सोरुकोट ,रोवाको शोभा ,रुगाको वाममा लगाएका स्याउ बजारको पहुँच भन्दा टाढा भएको कारण त्यतिकै खेर गएका छन । टिपिएका स्याउहरु पनि आफन्तलाई कोसेली कि त गाइभैसीलाई कुडो बनाएर खान दिने गरेको रुगा गाबिस बाम गाउँका कृषक कर्णबहादुर बोहोरा बताउनु हुन्छ ।

प्रत्येकको घरमा अहिले ५ देखि १० क्विटल स्याउ उत्पादन भएको स्थानीय कृषकहरुको भनाई छ । तर सदरमुकाम गमगडी बजार पु—याउन सहज माध्यम नहुँदा समस्या परेको छ । कच्ची बाटोका कारण स्याँउ कुहिएर जाने गरेको र स्थानीय बजारमा उचित मूल्य समेत नपाउने गरेका ताल्चाका कृषक रामभक्त रोकायाको गुनासो छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार गत वर्ष मात्र मुगु जिल्लामा २ सय ७५ टन स्याउ उत्पादन भएको थियो । गत वर्ष जिल्लाभित्र नै ४० हजार बराबरको स्याउ विक्रि गरेको र बाँकी सबै खेर गएको कार्कीवाडा गाविस वडा नम्बर २ की राजमाया रावल बताउनु हुन्छ ।

अहिले मुगुमा होलसेलमा २५ रुपैयाँ देखि ४० रुपैयाँ प्रति केजी स्याउ विक्रि भईरहेको छ । सदरमुकाम गमगढी बजारमा के।जी को दरले स्याउ बिक्रि नगरी प्रति दानाको रु ५ देखि दश रुपैया सम्मले बिक्रि भइरहेको छ । आत्मनिर्भरताको नारा दिएर नथाक्नेहरुले मुगुको किसानका मेहेनतको सम्मान गरे देशभरका नागरिकहरुले त्यहाँको स्याउको स्वाद चाख्न पाउने थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us