Sunday, 4 September 2016

नेपालमै क्यान्सरविरुद्धको औषधि पत्ता लगाउने प्रयास

काठमाडौं । क्यान्सर, त्यो पनि आमाशयको । अर्बौं रुपैयाँ खर्चिनसक्ने क्षमता भएका विश्वविख्यात व्यक्ति एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सलाई समेत बाँच्न दिएन त्यसले ।

उनलाई बचाउन संसारकै उत्कृष्ट सर्जनहरूले उपचार गरे । रेडियोथेरापी, केमोथेरापीसमेत असफल भए । यस्ता धेरै व्यक्ति मृत्युको जोखिममा छन् यही रोगका कारण । तर संसारका क्यान्सरग्रस्त लाखौं जीवन बाँच्ने सम्भावनको बलियो आधार बन्ने मूर्त योजनामा दत्तचित्त छन् एक नेपाली युवा । उनको अनुसन्धान सफल भए क्यान्सरबाट हुने मृत्युमाथि विजय पाउनेछ सिंगो मानव जातिले । र, सुनौलो अक्षरले विश्व इतिहासमा कोरिनेछ नेपालको नाम ।

चिनियाँ सरकारले कम उमेर र अत्यधिक खुबी भएका युवालाई प्रदान गर्ने ‘युवा वैज्ञानिक पुरस्कार’ प्राप्त गर्न सफल पहिलो नेपाली हुन्, प्राध्यापक डा। राजीव झा ।

उनी यति बेला नेपालमा मात्रै नभई चीनका लागि गर्विलो व्यक्ति बन्न पुगेका छन् । प्राध्यापक डा। झा, उनकै नाममा चीनले निर्माण गरिदिएको ‘चाइना नेपाल फ्रेन्डसिप रिसर्च इन्स्टिच्युट अफ राजीव झा’का निर्देशक बन्न सफल भएका छन् र निरन्तर स्वास्थ्य अनुसन्धानमा जुटिरहेका छन् ।

नेपाली र चिनियाँ परम्परागत र आधुनिक औषधिको ‘मि श्रण पद्धति’बाट आमाशय क्यान्सरको औषधि आविष्कार गर्ने लक्ष्यसहित अनुसन्धानमा जुटेका छन् उनी ।

लक्ष्य मूर्त हुने बलियो आधार उनीसँग छ, चीनमा अत्याधुनिक सेन्टर । त्यही सेन्टरमार्फत अनुसन्धान गर्न चीन सरकारले उनलाई दुईपटक गरी १५ लाख ‘आरएमबी’ दिइसकेको छ । यति महत्वपूर्ण जिम्मेवारी पाएपछि उनी दंग त छन्, सँगसँगै चुनौती पनि थपिएको छ उनको काँधमा । नेपाल वा चीनमात्र होइन संसारका आममानिसलाई आमाशयको क्यान्सरबाट बचाउने उनको चुनौती हो ।

नेपाल आएका बेला केही दिनअघि उनलाई भेट्न भैंसेपाटीस्थित उनको निवास पुग्दा सुरुमै उनी चुनौतीको पोको खोल्न आतुर भए। हेर्दा भर्खरै क्याम्पस जाने तन्नेरीजस्तै लाग्ने उनको विचारमा भने अनेकन प्रगतिका सम्भावना छचल्किन्थे ।

नेपालमै आइएस्सी सकेपछि २० वर्षअघि चीन गएका थिए उनी एमबीबीएस पढ्न । आफ्नै पैसाले पढे एमबीबीएस । ‘मास्टर इन सर्जरी’ र पीएचडी चीनले पढायो । पीएचडी सकिएलगत्तै चीन सरकारबाट युवा वैज्ञानिक अवार्ड पनि पाए । हाल सियान ‘मेडिकल युनिभर्सिटी’को क्लिनिकल विभागमा प्राध्यापक छन् उनी । 
साथै अन्य दुई विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर पनि । चीनमा यो स्थान पाउने सम्भवतः उनी नै हुन् पहिलो नेपाली । ०३६ सालमा धनुषाको परवाहा गाउँमा जन्मेका थिए उनी । उनको शिक्षादीक्षाका निम्ति गाउँले जीवन त्यागेर काठमाडौं पसेका थिए उनका बुवाअमा ।

राष्ट्र बैंकमा एउटा साधारण कर्मचारीका रूपमा काम पाएका उनको बुवाले पनि अथाह मेहनत गरे । आमाले पनि वाणिज्य बैंकमा काम गर्न थालेपछि अलि सहज भयो उनीहरूको दैनिकी ।

बाल्यकालदेखि कुनै पनि विषयमा लामो समय घोत्लिने उनको बानी थियो । त्यसैले प्रायः प्रथम नै भए कक्षामा । त्यही भएर आनन्दकुटी विद्यालयले धेरै वर्ष पूर्ण छात्रवृत्तिमा पढायो उनलाई । एसएलसीपछि उनले काठमाडौं विश्वविद्यालयबाट आईएस्सी पास गरे र मेडिकल साइन्स पढ्ने योजना बनाए ।

नेपालमा सीमित मेडिकल कलेजहरूमा भर्ना हुन ठूलो प्रतिस्पर्धा गर्नुपथ्र्यो । सामान्य परिवारका लागि चीन उच्चशिक्षा प्राप्त गर्ने उपयुक्त गन्तव्य पनि थियो । त्यसैले चीनमै सम्भावना देखेर उतै हानिए उनी । रुचिसँगै दिनरातको परि श्रमले अध्ययन र अनुसन्धानमा सफल पनि भए । पीएचडी गर्ने क्रममा पाँचवटा अन्तर्राष्ट्रिय जर्नलमा आमाशयमा हुने क्यान्सरलगायत विभिन्न रोगबारे ‘अनुसन्धानपत्र’ प्रकाशित भएको थियो उनको ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us