Thursday, 8 September 2016

अमिताभले नातिनीलाई भनेः तिमी स्कर्टको लम्बाईमा चरित्र नाप्न नखोज

बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चनले सोमबार आफ्ना नातिनीहरुलाई सम्बोधन गरि लेखेको पत्र अहिले भाइरल बनेको छ । आफ्ना छोरा अभिषेक र बुहारी ऐश्वर्याबाट जन्मेकी नातिनी आरध्या र छोरी श्वेता र ज्वाँई निखिलबाट जन्मेकी नातिनी नव्यालाई सम्बोधन गरि लेखेको यो पत्रमा बच्चनले लैंगिक विभेदको विरुद्ध आफूलाई उभ्याएका छन् । बच्चनको पत्रको नेपाली अनुवाद । 

‘मेरा प्रिय नव्या र आरध्या .
तिमीहरुले आफ्ना कलिला काँधहरुमा निकै मूल्यवान विरासत बोकेका छौ । आरध्या तिम्रो काँधमा तिम्रो जिजुबाजे डा। हरिवंश राय बच्चनको विरासत छ भने नव्या तिम्रोमा श्री एचपी नन्दाको । तिमीहरु दुवैका जिजुबाजेले तिमीहरुलाई प्रख्यात यश, प्रतिष्ठा र मान्यता भएको थर दिनुभएको छ ।
तिमीहरु दुवै नन्दा वा बच्चन हौ तर तिमीहरु केटीहरु पनि हौ....महिलाहरु 

र तिमीहरु महिला भएकैले मानिसहरुले उनीहरुका विचार र उनीहरुका बन्धनहरु तिमीहरुमाथी थोपर्नेछन् । उनीहरुले तिमीहरुलाई भन्नेछन्, के लगाउने, कसरी लगाउने, कसरी व्यवहार गर्ने । उनीहरुले निधो गर्नेछन् तिमीहरुले कसलाई भेट्न हुन्छ, कहाँ जान हुन्छ, कहाँ हुँदैन । मानिसहरुको धारणाको छाँयामा नबाँच । आफ्नै ज्ञानको प्रकाशमा आफ्नो रुची आफै बनाउ । कसैलाई पनि तिमी आफ्नो स्कर्टको लम्बाईमा आफ्नो चरित्र नाप्छौ भन्ने नगराऊ । कसैलाई पनि तिम्रो साथी को हुनुपर्छ भन्ने धारणा बनाउन वा कोसँग तिमीले मित्रता गाँस्नुपर्छ भन्ने निर्णय गर्न नदेऊ ।

तिमीले विवाह गर्न चाहने बाहेक अरु कुनै पनि कारणले विवाह नगर । मानिसहरु कुरा काट्नेछन् । उनीहरु सम्भवतः भयानक कुरा गर्नेछन् । तर यसको अर्थ तिमीले सबैको कुरा सुन्नुपर्छ भन्ने होइन । ‘मान्छेले के भन्लान्’ भन्नेमा कहिल्यै चिन्तित नहोऊ ।
तिम्रा हरेक कामहरुको अन्त्यमा त्यसको परिणामसँग जुध्ने तिमी नै हुनेछौ त्यसैले तिमीबारेको निर्णय अरुलाई गर्न नदेऊ । 
नव्या– तिम्रो नामसँग जोडिएको थरले दिने सेवा, सुविधाले तिमी महिला भएकैले सामना गर्नुपर्ने समस्याहरुबाट जोगाउने छैन । 
आरध्या – तिमीले यो पत्र पढ्ने र बुझ्नेबेलाको हुँदासम्म सम्भवतः म रहनेछैन । तर मलाई लाग्छ मैले आज भनेको त्यतिबेला पनि सान्दर्भिक हुनेछ।

यो संसारमा महिला हुनु गाह्रो छ । तर मलाई विश्वास छ, तिमीहरुजस्तै महिलाहरुले यो संसार फेर्नेछौ । आफ्ना सीमा आफैले तोकेर, आफ्नो निर्णय आफैले गरेर, मानिसहरुको धारणाबाट माथी उठेर यो काम गर्न त्यति सजिलो हुनेछैन । तर तिमीहरु.. तिमीहरु जहाँसुकैका हरेक महिलाको निम्ति उदाहरण बन्नसक्नेछौ ।
यसै गर र यस्तो गर्दा तिमीहरुले मैले अहिलेसम्म गरेभन्दा धेरै गरेको हुनेछौ । र त्यतिबेला अमिताभ बच्चन भन्दा पनि तिमीहरुको हजुरबुवा भनेर चिनिंदा मलाई बढी सम्मान हुनेछ ।

मेरो सम्पूर्ण माया सहित ।
तिमीहरुको दादाजी, तिमीहरुको नाना ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us