Wednesday, 28 September 2016

घर बनाउने आस थियो, ज्यान गुम्यो

धादिङबेसी । सत्यदेवी गाविस ३ का भूकम्पपीडित लीलाबहादुर तामाङ एक साताअघि सरकारले घर बनाउन दिएको अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिन सदरमुकाम धादिङबेसी आएका थिए । गाउँमै शिविर गएका बेला अनुदान सम्झौता गरेका तामाङले गाविसले सूचना दिएबमोजिम सदरमुकाम गएर यती डेभलपमेन्ट बैंकबाट ५० हजार रुपैयाँ बुझे ।

लीलाबहादुरको परिवार घर भत्केको १६ महिना नाघिसक्दा पनि अस्थायी टहरोमै थियो तर यति ठूलो भूकम्पमा ज्यान बचेकोमा आफूलाई भाग्यमानी नै सम्झन्थ्यो । पैसा बुझेपछि घर बनाएर परिवारलाई त्यहीं सार्ने योजना बनाउँदै उनी गाउँ फर्कंदै थिए तर उनी चढेको बस मंगलबार धादिङको मार्पाक ६, लपाङफेदीबाट खसेर आँखुनदीमा पुग्यो । उनको ज्यान त्यहीं गुम्यो । लीलाबहादुरसँगै गत वर्षको विनाशकारी भूकम्पबाट बाँचेका अन्य १८ जनाले पनि ज्यान गुमाए ।

नयाँ घर बनाउने सपना बुनेर सदरमुकाम झरेका लीलाबहादुरसँगै सत्यदेवीबाटै अनुदानको पहिलो किस्ता लिन आएका ६ जनाले दुर्घटनामा ज्यान गुमाए । लीलाबहादुरकी कान्छी छोरी मन श्री तामाङले भावुक हुँदै भनिन्, ‘पैसा लिन लागि सदरमुकाम जान्छु भनेर घरबाट हिँड्नुभएको बुवा कहिल्यै फर्केर नआउने गरी जानुभयो । घरमा आमा पनि बिरामी हुनुहुन्छ, काजक्रिया गर्न पर्‍यो, नयाँ घर बनाएर बस्ने त त्यस्तै भयो, बुबालाई समेत गुमायौं ।

दुर्घटनामा छोरो गुमाएको खबरले सर्ची तामाङ दुःखी छिन् । ‘एउटैमात्रै छोरो थियो, बैंकबाट पैसा निकालेर घर बनाएर बस्ने भनेको थियो । बिरामी बुवा लिन गएका बेला आफै दुर्घटनामा परेर बित्यो,ु सर्चीले रुँदै भनिन्, ‘ श्रीमान् पनि दमको बिरामी हुनुहन्छ, हामी अझैसम्म त्रिपालमै बसिरहेका छौं । छोरो पनि गयो अब म एक्लैले कसरी घर बनाउने ? 

दुर्घटनामा परेर एकै गाउँका चारजनाको मृत्यु भएपछि सत्यदेवी  २ अहिले शोकमा डुबेको छ । सत्यदेवीका आयुसबहादुर तामाङले भने, ‘भूकम्प गएपछि यहाँका सबैजना त्रिपाल र टहरामा छने । भूकम्पमा परेर मुस्किलले ज्यान जोगाएर बाँचेकाहरू त्यही भूकम्पको अनुदान लिन जाँदा दुर्घटनामा परेर मर्नुपर्‍यो ।

दुर्घटनामा मृत्यु भएकाहरू सबैको शव आफन्त र परिवारलाई जिम्मा लगाइएको छ । बाटोको कठिनाइका कारण घटनास्थलमै पुगेर प्रहरीले मुचुल्का बनाएको र डाक्टरलाई पनि घटनास्थलमै लगेर पोस्टमार्टम गरिएपश्चात् आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले बताए । मृतकहरूको परम्पराअनुसार गाउँमै अन्त्येष्टि गरिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us