धादिङ । वन क्षेत्र मिचेर बनाइएका घरहरुको लाइन नकाटेको भन्दै नेपाल विद्युत प्राधिकरण धादिङ शाखा प्रमुखलाई जिल्ला प्रशासन कार्यालयले केहीबेर नियन्त्रणमा लिएको छ । विद्युत प्राधिकरण धादिङ शाखा प्रमुख सत्यनारायण गामीलाई बुधबार नियन्त्रणमा लिएर तारेखमा छाडिएको छ ।
गामीलाई नियन्त्रणमा लिइएको विरोधमा प्राधिकरणका कर्मचारीहरुले जिल्लाभर लाइन काटेर विरोध जनाएका छन् । पूर्वजानकारीविना एक्कासी लाइन काटिएपछि स्थानीय मर्कामा परेका थिए ।
धादिङको निलकण्ठ नगरपालिकाको अमरावती सामुदायीक वन मिचेर बनाइएका घरहरुमा विद्युत लाइन काट्न गत साउन ३० गते जिल्ला वन कार्यालयले प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही विषयमा असोज २ गते जिल्ला प्रशासन कार्यालयले पनि प्राधिकरणलाई पत्र काटेको थियो ।
सो निर्देशन अटेर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले बुधबार केहीबेर प्राधिकरण प्रमुख गामीलाई नियन्त्रणमा लिएर छाडेको हो।
जिल्ला वन कार्यालय प्रमुख इमनाथ पौडेलले प्राधिकरण प्रमुख गामीलाई साधारण तारेखमा छाडिको अनलाइनखबरलाई जानकारी दिए । गामीलाई छाडेलगत्तै प्राधिकरणले पनि विजुलीको लाइन पुनः सुचारु गरेको छ ।