Tuesday, 20 September 2016

रक्सीले मातेका प्रहरी निरीक्षकले ७१ वर्षका वृद्धलाई कुटे


गोरखा ।  गोरखा नगरपालिकाका ७१ वर्षे वृद्ध थमनसिंह बस्नेतलाई रक्सीले मातेका प्रहरी निरीक्षकले कुटपिट गरेका छन् । सोमबार राति सामान्य विवाद भएपछि प्रहरी निरीक्षक गौतम बोहोराले थमनसिंहलाई कुटपिट गरेको गाउँलेले बताएका छन् ।

कुटपिटबाट घाइते भएका वृद्ध थमनसिंहको जिल्ला अस्पताल गोरखामा उपचार भइरहको छ । थमनसिंहको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कुटपिटबाट सामान्य घाइते भएका प्रहरी निरीक्षक बोहोराको त्यही अस्पतालमा उपचार भइरहेको छ ।
  
आँबुखैरेनी गोरखा सडकखण्ड अन्तर्गत देउराली गाविस र गोरखा नगरपालिका जोड्ने पुलमा राति ११ बजे मोबाइलमा कुरा गरेर बसिरहेका विश्वास बस्नेत र प्रहरीबिच विवाद भएको हो । प्रहरीले रातिसम्म किन फोनमा कुरा गरेर बसेको भन्दै वस्नेतलाई अभद्र ब्यवहार गरेको स्थानीयबासिन्दाले बताएका छन् । 

नगरक्षेत्र भएर पनि यो ठाउँमा टेलिफोनको राम्रो नेटवर्क छैन । राम्रो नेटवर्क आउने भएकाले स्थानीयबासिन्दा टेलिफोन कुराकानीका लागि पुल आसपासनै जानु पर्ने बाध्यता छ । प्रहरीलाई यस बारे जानकारी गराउँदा नै उनीहरुबिच भनाभन भएपछि रक्सीले मातिएका प्रहरी निरीक्षक गौतमले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

विवाद मिलाउन पुगेका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि स्थानीयबासिन्दालाई जथाभावी कुटपिट गरेका हरिमानसिंह बस्नेतले बताउनुभयो । ‘दिउँसो मेरो घरको ढलान थियो, राति त्यसकै अवसरमा भोज चलिरहेको थियो’ बस्नेतले भन्नुभयो ‘विवाद भएपछि हामी सबै त्यतै गयौं, ७१ वर्षका वृद्ध थमनसिंह बस्नेत विवाद मिलाउन प्रहरी सामुन्ने जाने बित्तिकै कुटिए ।’ वृद्ध कुटिएपछि स्थानीयबासिन्दाले आक्रोसित हँदै प्रहरीको गाडीमा ढुंगा हानेका थिए ।  

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us