Monday, 5 September 2016

प्रचण्डले मोदीसँग यी विषयमा कुरा गर्नेछन् ,यस्तो छ तय भएको एजेण्डा

काठमाडौँ  । प्रधानमन्त्रीको भारत भ्रमणलाई अहिले नेपाली राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही भदौ ३० गते चार दिने भ्रमणमा भारत जाँदैछन् ।  सुरुमा दाहाल तीन दिने भ्रमणमा भारत जाने हल्ला भएपनि  चार दिन भारतमा रहने भनिएको छ । उनको भ्रमण असोज २ गतेसम्मको लागि तय भएको छ ।

 भारत जानुअघि उनले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसँग वार्ताका लागि नेपालको प्रस्तावित अडानबारे मन्त्री तथा सचिवहरुसँग परामर्श सुरु गरेका छन् । त्यस्तै प्रधानमन्त्री दाहालले लामो समयदेखि अड्किएको पञ्चेश्वर परियोजनाको डिपिआरमा सहमति गर्नुपर्ने विषयमा समेत छलफल गरेका छन् । बैठकमा नेपाल–भारत दुईदेशीय प्रसारण लाइन निर्माणको अवस्था, पूर्व–पश्चिम हुलाकी राजमार्गको अवस्थाबारे ब्रिफिङ भएको एक मन्त्रीले जानकारी दिए । 

यसैगरी, भूकम्पपीडितको घर पुनर्निर्माणमा भारतीय सहयोगको कार्यान्वयन र थप सहयोगबारे बैठकमा चर्चा भएको थियो । सरकारले भारतसँग प्रतिपरिवार एक लाखका दरले थप सहयोग माग्न लागेकोमा उसको ‘मुड’का आधारमा मात्रै यो प्रस्ताव लैजानुपर्ने सुझाब पेस भएको छ । भारतको सहयोगमा बन्ने भनेको प्रहरी एकेडेमी निर्माणमा तीव्रता दिने विषयमा पनि सम्बद्ध अधिकारीले ब्रिफिङ गरेका छन् । 

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले यस पटकको भारत भ्रमणमा हाईडपावरदेखि विगतमा सम्झौता भएका अन्य महत्वपूर्ण परियोजनाहरु जस्तै माथिल्लो कर्णाली, अरुण तेस्रोसहित जलविद्युत् आयोजनाको अवस्था, यसमा नेपालको धारणा स्पष्ट गर्ने पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी विषयको कार्यान्वयनबारे भारतीय पक्षसँग विशेष छलफल गर्ने भएका छन् । 

त्यस्तै उनले नौमुरे जलविद्युत् योजना निर्माण गर्ने, पञ्चेश्वरको डिपिआरमा अन्तिम निर्णय, दुईदेशीय विद्युतीय प्रसारण लाइन निर्माणको प्रगति, हुलाकी सडक निर्माणको अवस्था, भूकम्पपीडितको घर पुनर्निर्माणमा भारतीय सहयोगको कार्यान्वयन, थप सहयोग सीमावर्ती क्षेत्रमा भारतले बनाएको बााधबाट सिर्जित समस्या समाधानका लागि संयुक्त टिम निर्माणसहितका विषय भारतको सहयोगमा बन्ने भनेको प्रहरी एकेडेमी निर्माणको बारेमा विशेष निर्णय लिने बुझिएको छ । 

प्रधानमन्त्री दाहालले विगतमा भएका द्धिपक्षीय सन्धिसम्झौताको पूनरोवलोकन गर्ने र निश्कर्षमा पुग्ने तयारी गरेका छन् । भारतीय पक्षले पनि प्रधानमन्त्री दाहालललाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ । प्रचण्ड यसपटक ठूलाठूला परियोजनामा हस्ताक्षर गर्नेभन्दापनि पूरानै परियोजनाहरुलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने र त्यसको लागि भारतीय पक्षसँग विशेष छलफल गर्ने मनस्थितिमा पुगेका छन् । त्यसैगरि उनले भ्रमणको बेला राजनीतिक विषयमा त्यति धेरै छलफल नगर्ने बुझिएको छ ।  

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us