Tuesday, 13 September 2016

चीनलाई पछिपार्ने दौडमा भारत, तिहारलगत्तै भारतीय राष्ट्रपतिले नेपालको भ्रमण गर्ने

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आगामी कात्तिकको १७ वा १८ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको तयारीका लागि भारत गएर मंगलबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले भारतीय राष्ट्रपति मुखर्जी कात्तिकको १७ वा १८ गतेको अपरान्ह नेपाल आउने जानकारी दिए । उनले कात्तिक १६ गते आउनका लागि निम्ता गरेपनि त्यो दिन नेपालमा भाइटिका परेकाले मुखर्जी भाइटिकाको भोलिपल्ट वा पर्सिपल्ट आउने जानकारी आफूलाई भारतीय पक्षले गराएको बताए ।

भारतीय राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले भदौको पहिलो साता नेपाल भ्रमणको निम्ता दिएका थिए ।

परराष्ट्रमन्त्री महतले प्रधानमन्त्रीेको भ्रमणका क्रममा पंचेश्वर आयोजनाको कामलाई तिब्रता दिने, सीमा क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्ने, विद्युतको बजारका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने लगायतका एजेण्डामा केन्द्रीत हुने तय भएको जानकारी दिए । उनले हुलाकी मार्गको दोस्रो चरणका सडकको निर्माणमा भारतीय सहयोग, कञ्चनपुरको चाँदनी दोधारामा नाका खोल्ने लगायतका विषयमा पनि प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने बताए ।

प्रधानमन्त्री दाहाल यहि भदौ ३० गते भारत भ्रमणमा जान लागेकाले भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री महत गत आइतबार भारत गएका थिए । उनले भ्रमणको एजेण्डाका बारेमा भारतीय समकक्षी सुष्मा स्वराज, जलस्रोतमन्त्री, उर्जामन्त्री र प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकारलाई भेटेर अवगत गराएको बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us