Sunday, 11 September 2016

छ दिनकी सुत्केरी एकाएक गायव, छोराको बिचल्ली

काठमाडौं । छ दिनकी एक सुत्केरी महिला मध्यरातमै गायव भएपछि  छोराको बिचल्ली भएको छ । अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालेको छ दिनमै कोर्चाबाङ ४ घापाकी दिलकुमारी बुढामगर गत १८ गते राती गायब भएपछि उनका पति हैरान हुनुका साथै बच्चाको बिचल्ली भएको हो ।

प्रसुतीका लागि गृह जिल्लाबाट दाङ सौडियार १ अघरामा बसोबास गर्दै आएका जेठाजुको घरमा आएको समयमा राती बच्चसंगै सुतेकी दिलकुमारी एकाएक बेपत्ता भएको श्रीमान दिनेश बुढामगरले बताएका छन् ।

‘कान्छा, घर जाम भन्दा मानेनौ । मलाई नखोज । मेरो उपचार गर्नुभन्दा नगर्नु नै बेस छ । भाई ९छोरा० लगेर राम्रोसँग पाल । कान्छी ९नन्द० लाई राम्रोसँग पढाउनू ।’  दिलकुमारीले पतिको मोबाईलमा यसरी एसएमएस लेखेर छाडेकी छन् ।

छोरा रोएपछि आफू ब्यूझिदा रातको पौने एक बजेको समयमा श्रीमति नभएको पति दिशेले बताए । ‘शौचालय गएकीछिन कि भनेर खोज्न गएँ, भेटाईन । त्यसपछि घरको वरीपरी मोबाईलको बत्ति बालेर हेरें देखिनं ।’

सन्देश छाडेर उनले मोबाईल पनि कोठामै छाडेकी छन् । उनी कतैपनि नदेखेपछि भाउजुलाई उठाएको र छिमेकी समेतलाई बोलाएर मध्यरातमा गाउँभरी खोज्दा पनि फेला नपरेको बताउँछन् ।

प्रसुतीका लागि दिनेश र दिलकुमारी दाङ घोराही स्थित महेन्द्र उपक्षेत्रीय अस्पतालमा पुगेका थिए । भदौ १३ गते साँझ पौने ६ बजे शल्यक्रियाद्वारा बच्चा निकालिएको अस्पतालको रेकर्डमा उल्लेख छ ।

आमाको शल्यक्रिया भएको र छोरालाई जण्डिस देखिएकाले दम्पत्ति १७ भदौसम्म अस्पालमै रहेका थिए । ‘छोरालाई धेरै विसन्चो भएपछि उनीहरु भैरहवा मेडिकल कलेजमा पुगेका थिए ।

‘बच्चाको जाँचपड्तालपछि सामान्य अवस्था रहेकाले  उनीहरु १८ गते घोराही फर्किएका थिए । ‘घोराही आएपछि दिलकुमारीले घर जाने भनेकी थिइन् तर घाउमा समस्य आउन सक्छ । छोरालाई जण्डिस झन बल्झिन सक्छ भनेर यतै बसियो ।’ उनले भने ।

शल्यक्रिया गरेको घाउ अनि छ दिनको बिरामी छोरा छोडेर उनी किन हराईन भन्ने अझै खुलेको छैन । हराएको भोलीपल्ट घोराहीको प्रहरी कार्यालय, रोल्पाको जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । छोरालाई भैंसीको दुध खुवाएर राखिएको र बच्चाको अबस्था राम्रो रहेको बताइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us