Friday, 30 September 2016

केपी ओलीलाई भेटेपछि गगन थापाको निश्कर्षः देश दुर्घटनामा पर्न सक्छ, शक्ति सन्तुलन बदल्न तयार होऔं

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफलपछिको निश्कर्ष सुनाउँदै भनेका छन् निर्वाचन गर्न सजिलो छैन, हामी दुर्घटनामा जान सक्छौं । शक्ति सन्तुलन बदलेर भए पनि चुनाव गर्नुपर्छ ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेका मन्त्री थापाले देशलाई दुर्घटनामा जान नदिनका लागि अहिलेको शक्ति सन्तुलन फेरेर भए पनि चुनाव गर्नुपर्ने बताए । थापाले यसको थप व्याख्या गरेनन् । तर, उनको संकेत सरकारको नेतृत्व हेरफेर गरेरै भए पनि एमालेलाई समेत एक ठाउँमा ल्याउनुपर्छ भन्ने देखिन्थ्यो ।

शुक्रबार तीनकुनेस्थित रोयल बेङ्क्वेटमा आयोजित कृष्णप्रसाद सिटौला समूहको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापा पनि उपस्थित थिए । कार्यक्रममा छोटो मन्तव्य दिँदै थापाले एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफल गरेको जानकारी दिए ।

‘मैले केही दिनअगाडि पूर्वप्रधानमन्त्री केपी ओलीजीसँग बसेर लामो छलफल गर्दाखेरि उहाँको पनि ठूलो चिन्ता छ’ मन्त्री थापाले भने, ‘हामी वीचमा केही भिन्नता र तिक्तताहरु होलान् । यी सबै कुरालाई टेबलमा राखेर समाधान गर्न खोजिएन भने हामी दुर्घटनामा जान्छौं । निर्वाचन गर्न सजिलो छैन ।’

मन्त्री थापाले अहिलेको शक्ति सन्तुलनलाई समेत बदलेर भए पनि देशलाई दुर्घटनाबाट जोगाउनुपर्ने बताए । उनले भने( ‘योबेलामा दलको विषय, सरकारको विषयभन्दा पनि संविधानको कार्यान्वयनको विषयमा को सरकारमा छ र को सरकारमा छैन भन्ने कुरालाई बिर्सेर एक ठाउँमा उभिनुपर्छ । बरु अहिलेको यो शक्ति सन्तुलनलाई बदलेर भएर पनि एक ठाउँमा कसरी उभिने ? कठोर निर्णय गरेर भए पनि एक ठाउँमा उभिने हो । होइन भने, हेर्दाहेर्दै निर्वाचन गर्न सकेनौं भने देश ठूलो दुर्घटनामा जान्छ ।’

मन्त्री थापाले भने( ‘मैले अहिले ०६२र०६३ को आन्दोलनलाई सम्झिइरहेको छु । त्यो यात्रा अहिले पनि टुंगिएको छैन ।‘। अहिले कांग्रेसले रियलाजेसन गर्ने बेला आएको छ । अब यो यात्रालाई निश्कर्षमा पुर्‍याउनुपर्छ ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us