काठमाडौं । वैदेशिक रोजगारका शिलशिलामा साउदीमा पुगेका पाँच नेपालीले नौं महिनादेखि मागेर प्राण धानेका छन् । तर सिंहदरबार बेखबर रहेको पाइएको छ ।
साउदी अरबको जुवेलस्थित ‘ब्रेन्स फर कन्ट्रयाक्टिङ लिमिटेड’ कम्पनीमा काम गर्न गएका पाँच नेपाली नौं महिनादेखि काम, तलब र खाना समेत नपाई अलपत्र परेपछि मागेर प्राण धान्नुपरेको हो ।
प्रभावका अनुसार, वैदेशिक रोजगार विभागबाट २८ पुस २०७१ मा अन्तिम श्रम स्वीकृति लिइ साउदी गएका सुगामधुकरी–५, धनुषाका दिल महोमद नदाफ, मानसिक पटिक–२ धनुषाका जुगल मण्डल केबट, लग्मा–३ धनुषाका नगेश्वर दास, सुन्दरपुर–८ महोत्तरीका रामनाथ मण्डल र त्रियुगा नगरपालिका–९ सप्तरीका फुलचन पासवान विगत ९ महिनादेखि अलपत्र परेका हुन् ।
पीडितहरूले ओशो रिक्रुटिङ म्यानपावर कम्पनीमा लागत बुझाएर चप्पल कारखानास्थित एमकन ओभरसिज नामको म्यानपावरबाट श्रम स्वकृती लिई साउदी उडेका थिए । पीडितका आफन्तहरूले बुधबार वैदेशिक रोजगार विभागमा पीडितहरूलाई पाउनुपर्ने तलब दिलाई यथाशीघ्र स्वदेश झिकाउनका लागी उजुरी दिएका छन् ।
पीडित रामनाथ मण्डलका मामा राम दयाल मण्डलले पीडितहरूलाई काम, तलब र खाना समेत नदिएकाले मागेर खानु पर्ने स्थिति सिर्जना भएको बताए । मण्डलले उनीहरूलाई खानको लागी पटक–पटक गरेर हजारौँ रकम आफूहरूले साउदी पठाइसकेको बताए ।
पीडितको उद्धारको लागी म्यानपारलाई अनुरोध गर्दा भोली भोली, पर्सी पर्सी भनेर टार्ने गरेको पीडितका आफन्तहरूले गुनासो गरे । पटक–पटकको अनुरोधले पनि पीडितहरूको समस्या समाधान हुन नसकेपछि आफूहरू उजुरी दिनको लागी धनुषा बाट काठमाडौं आउन बाध्य भएको उनीहरूले बताए ।
पीडित दिल महोमद नदाफले १८ महिना अगाडी आफूहरू साउदी आइपुगेको र ९ महिना देखि अलपत्र परेको टेलिफोन मार्फत रुदैँ जानकारी दिए । यस विषयमा एमकन ओभरसिजका सञ्चालक राम प्रसाद गैरेले आफूहरूले कामदारहरूको श्रम स्वीकृति मात्रै गरिदिएको र कामदारको सम्पूर्ण जिम्मेवारी लिने भन्ने विषयमा तत्कालीन समयमा नै ओशो रिक्रुटीङ एजेन्सीले कबुलनामा गरिसकेको बताए ।