Wednesday, 14 September 2016

डा. गोविन्द केसी सुटुक्क रोल्पामा पुगेर बिरामीको उपचार गर्दै

रोल्पा । कसैलाई थाहै नदिएर डा. गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन् । झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा। केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर बिरामीको उपचार थालेका हुन् ।

प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा। मिलन बज्राचार्यका अनुसार डा। केसी बिहान १०ः३० बजे सुलिचौर पुगेका थिए । स्वास्थ्य केन्द्र पुग्नुभन्दा दुई घन्टाअघि मात्र डा। केसीले इन्चार्जलाई जानकारी दिएका थिए ।

मङ्गलबार बिहान काठमाडौंबाट हिँडेका उनी बेलुका सदरमुकाम लिवाङ आएका थिए । सहयोगीबिना एक्लै आएका उनी बुधबार बिहानै सार्वजनिक बसबाट सुलिचौर हिँडेका थिए ।

यसपटक सदरमुकामबाट करिव २१ किलोमिटर पूर्वको सुलिचौरमा उनले उपचार थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार डा। केसीले बुधबार पहिलो दिनमै ६० भन्दा बढी बिरामीको उपचार गरेका छन् । बेलुका ५ बजेसम्म ओपिडीमा उनले बिरामी जाँचेका थिए ।

आफैंले बोकेर ल्याएको औषधि बिरामीलाई वितरण गरिएको डा। बज्राचार्य बताउँछन् । सरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिएका डा। केसी सुलिचौर आएको थाहा पाएपछि बजार क्षेत्रका बिरामी उपचारमा गएका थिए ।

हाडजोर्नीका विशेषज्ञ केसी सुटुक्क आएकाले धेरै बिरामी आएका छैनन् । ‘रोल्पाली विपन्न बिरामीको उपचारमा सघाउने मनसायले आएको हुँ,’ डा.केसीले पत्रकारसँग कुरा गर्दै भने । सरकारले आफ्ना माग पुरा गर्न गम्भीरता नदेखाएकाले संविधान जारी भएकै दिन असोज ३ गतेको अनसनका लागि यहाँबाट आफू बिहीबार बेलुका नै काठमाडौँ फर्कने उनले बताए ।

डा केसीले भने, ‘दुई दिन भएपनि सेवा दिन आएको हुँ ।’ विपत्ति परेको बेला मात्र होइन अरुबेला पनि दुर्गम गाउँमा पुगेर बिरामीको उपचार गर्न हौसिने डा। केसी दोस्रोपटक आएका हुन् । दुई वर्षअघि उनी जिल्ला अस्पताल, रेउघा आएर स्वास्थ्यकर्मीलाई हाडजोर्नीसम्बन्धी आधारभूत ज्ञानको अभिमुखीकरण गरेका थिए । त्यति बेलापनि बिरामीको उपचार गरेका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us