कन्चनपुर । बडादसैं नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली घर फर्कन थालेका छन् । सीमावर्ती नाकाहरुमा घर फर्कनेहरुको चहलपहल बढेको छ ।
तर, परिवारका लागि भन्दै केही कमाएर फर्किरहेका नेपाली सीमा क्षेत्रमा हुने ज्यादतीका कारण मारमा परेका छन् । दसैं–तिहार नजिकिएसँगै भारतका विभिन्न सहरमा रोजगारी गर्न गएका नेपालीहरु अहिले कैलालीको गौरीफन्टानाका र कन्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किरहेका छन् ।
मजदुरीका लागि भारतको दिल्ली, गढवाल, सिमला, चन्डिगढ, जम्मु–कस्मिरलगायतका स्थानमा गएकाहरु घर फर्किरहेका हुन् । परिवार एवं आफन्तसँग रमाउँदै चाडपर्वक मनाउन घर फर्कंदा अत्यन्तै उत्साहित भएको उनीहरु बताउँछन् ।
उत्साहकासाथ चाडपर्व मान्न घर फर्कनेहरुले सीमा क्षेत्रमा भने हैरानी खेप्नुपरेको छ । नेपालीहरुलाई नेपालीले नै सीमा क्षेत्रमा नशालुपदार्थ खुवाएर लुटपाट गर्ने, चेकजाँचका नाममा भारतीय तथा नेपाली सुरक्षाकर्मीले पैसा असुल्ने र बिनाकारण दुःख दिने गरेको उनीहरुको गुनासो छ ।
सर्वसाधारणलाई सहज होस् भनेर यसअघि दैनिक चार घन्टामात्र खुल्ने वनबासा पुल उद्योग वाणिज्य संघको पहलमा ७ घन्टा खुला गरिएको छ ।
यो नाका हुँदै मध्य पश्चिम र सुदूरपश्चिमकामात्र नभइ पूर्वी जिल्लाका सर्वसाधारण पनि घर फर्किरहेका छन् ।