काठमाडौं । खेलकुदमन्त्री दलजित श्रीपाइलीको समेत सहभागितामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले दशरथ रंगशाला सरसफाई गरेको छ ।
नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा झाडी उम्रिएर कुरुप भएपछि अखिल क्रान्तिकारीले शुक्रबार बिहान विशेष सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमलाई साथ दिन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीसमेत सरसफाइमा सहभागी भए । उनी कार्यक्रम अवधिभर सक्रियतापूर्वक सरसफाइमा जुटेका थिए । मन्त्री श्रीपाइलीले दशरथ रंगशालाको शौचालयसमेत सफा गरे । मन्त्री श्रीपाइलीसहित अखिल क्रान्तिकारीले देखाएको सक्रियताले दशरथ रंगशालाको मुहार फेरिएको छ ।
रंगशालामा सर्वसाधारण बस्ने साधारण प्याराफिटमा झार उम्रिएर झाडी बनेको थियो । पोष्टबहादुर बोगटी स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको सरसफाइ कार्यक्रममा खेलकुदमन्त्री श्रीपाइलीसहित अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने लगायत सहभागी थिए ।