Monday, 12 September 2016

चीनले भन्यो राष्ट्रपति शीको नेपाल भ्रमण रद्द भएको छैन

काठमाडौं । चीनले राष्ट्रपति शी जिनपिङको भ्रमणबारे नेपालसँग ‘निकट सम्वाद’मा रहेको बताएको छ । साथै बेइजिङले शीको नेपाल भ्रमण रद्द भएको खबरको खण्डन गरेको छ ।


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भ्रमणबारे धेरै कुरा प्रष्ट हुन बाँकी नै भएको भन्दै भ्रमण रद्द भएको भन्न नमिल्ने बताएकी छन् । उनले भनेकी छन्, ‘उच्चस्तरको भ्रमण आदान प्रदानबारे दुई पक्ष निरन्तर सम्वादमा छन् ।’

चिनियाँ राष्ट्रपति शी भारतमा हुने ब्रिक्स सम्मेलनका क्रममा नेपाल आउने चर्चा थियो । तर, पछिल्लो पटक यो भ्रमण रद्द भएको खबरहरु प्रकाशमा आएका थिए ।नेपाल सरकारले भने भ्रमण रद्द भएको खबरको खण्डन गर्दै आएको थियो । अहिले चीनले पनि अक्टुबरको भ्रमण तय भइनसकेकाले रद्द भयो भन्न नमिल्ने बताएको छ ।

नेपालसँग निकट रहेर सम्वाद भइरहेको भन्दै चीनले राष्ट्रपति शीको नेपाल भ्रमणबारे उचित समयमा जानकारी दिने बताएको छ ।

साथै चीनले प्रचण्ड नेतृत्वको नयाँ सरकारसँगको सम्वन्धलाई महत्व दिएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवाले भनिन्, ‘चीनले नेपालको नयाँ सरकारसँग सम्वन्धलाई महत्व दिएको छ । र, दुई देशीय सम्वन्ध अगाडि बढाउन चाहन्छ ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us