Thursday, 1 September 2016

म्याग्दीमा बाढीले बस्ती नै बगायो, स्थानीयले भागेर ज्यान जोगाए

म्याग्दी । गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ ।बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिए ।
राति एक्कासि आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कविहीन बनेका छन् । बस्तीमा बाढी पसेर पूरै बगरमा परिणत भएको छ ।
बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताए ।
अहिले स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us