Tuesday, 6 September 2016

भारतले रोक्यो अदुवा निर्यात, किसान सकसमा

इलाम । भारतले अदुवा निर्यातमा रोक लगाएपछि पूर्वी नेपालका अदुवा किसान र व्यापारी समस्यामा परेका छन् । नेपालमा उत्पादन भएको अदुवाले राम्रो मूल्य नपाएको अवस्थामा चीनमा उत्पादन भएको अदुवा नेपाल हुँदै भारत पुर्‍याउने गरेको आरोप लगाउँदै भारतले रोक लगाएको हो ।
नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रिय सचिव हेमन्त बोहोराका अनुसार नेपालबाट चीन आएर भारत निकासीहुने अदुवामा विषादीको मात्रा भेटीएको भन्दै अदुवाको निर्यात रोकिएको हो ।

स्रोतका अनुसार भन्सार कर्मचारीसंगको मिलेमतोमा चिनको अदुवा भारत पुर्याउने गरेको हो । पहिले झापाको काँकरभिट नाका र विरगञ्ज नाकाबाट चिनको अदुवा भारत जाने गरेको थियो ।

नेपालको अदुवाको स्वाद राम्रो भएपनि आकर्षक नभएकाले चिनको अदुवाको माग भारतमा उच्च छ । चिनको अदुवा चम्कीलो र राम्रो पञ्जा भएकाले अन्तराष्ट्रिय बजारमा यसको उच्च माग रहेको विज्ञहरु बताउँछन् । नेपालको अदुवा सानो र नराम्रो देखिने भएकाले उपभोक्ता आकर्षका लागि समस्या भएको हो । स्रोत भन्छ फलतः कालीमाटी लगायतका ठुला कृषि बजारका व्यपारीलाई तस्करी गर्न सजिलो भएको छ ।

नेपाल सरकारले २०५७ मा तोकेको अदुवाको मापदण्ड अनुसार बोक्रा फालेको वा नफालेको सुकेको विभिन्न आकारको अदुवाको गानो , चिस्यान १२ प्रतिशत भन्दा कम भएको , बाह्रय पदार्थ २ प्रतिशत भन्दा कम भएको , सुगन्धित तेल १ प्रतिशत भन्दा बढी भएको , क्याल्सयिम अक्साईड ४ प्रतिशत भन्दा कम भएको र कुनै रंगको प्रयोग नभएको अदुवा निर्यातका योग्य हुन्छ । तर नेपालमा माटो सहितको अदुवा भारत पुग्ने गरेको सचिव बोहोराले बताए । उनले नेपालबाट भारत पुर्याउने अदुवाको कानुनी हैसीयद समेत नबनेकाले समस्या पर्ने गरेको छ ।

अदुवाको प्रयोग मुस्लीम समुदायमा बढि हुने गरेको छ । यसको बोट धार्मिक कार्यमा प्रयोग हुन्छ । अदुवाबाट प्राप्त हुने तेल सुगन्धका लागी पेय पदार्थ, पाउरोटी, विस्कुट आदिमा मिलाइन्छ । औषधि निर्माणमा पनि प्रयोग गरिन्छ । अदुवाबाट प्राप्त हुने ओलियोरेजिन मसलाको रुपमा मासु प्रशोधन गर्ने कारखानामा अधिकतम प्रयोग गरेको पाइन्छ ।

इलाम पाँचथरवाट अधिकाश अदुवा झापाको धुलावारी हुदै भारत निकासी हुने गरेको छ । अदुवा विक्री नहुँदा इलामका १२ हजार ९३२ परिवार किसान प्रभावित भएको जिल्ला कृषि विकास कार्यालय इलामका सुचना अधिकारी प्रकाशमणी काफ्लेले जानकारी दिए ।

इलामका सवै गाँउ विकास समितिमा खेती गरिए पनि मुख्य उत्पादन भने जिर्मले, समालबुङ, शान्तिपूर, लक्ष्मिपुर, गोदक, चिसापानी, नमासालिङ,चिसापानी, गोर्खे, बरबोटे, पशुपतिनगर नयाँ बजार कोलबुङ गाविस र तीन नगरपालिकाका ३२३३ हेक्टरमा अदुवा खेती हुने गरेको छ ।

त्यस्तै पाँचथरमा २ हजार हेक्टरमा अदुवाको खेती हुने गरेको छ । जिल्लाका सवै गाविसमा गरिने खेतीवाट यस वर्ष २१ हजार १ सय ७७ टन अदुवा उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । जिल्लाका आङसराङ, पौवासारताप,रानीटार, नागिन, फिदिम, रानीगाँउ गाविसमा बढिमात्रमा अदुवाको उत्पादन हुने गरेको छ ।
नेपालका २६ जिल्लामा अदुवा खेती हुँदै आएको छ । इलाम सबैभन्दा बढी अदुवा उत्पादन गर्ने जिल्ला हो । अदुवा विक्री नहुदा व्यपारी समेत मारमा परेको इलामको बरबोटेका व्यपारी कृष्ण पौड्यालले बताए ।

उनले अदुवा धेरै दिन राख्न नसक्ने भएकाले समस्या भएको बताए । सुर्योदयन गरपालिका ६ कि हेममाया प्रधानले अदुवा विक्री नै हुन छोडेको भन्दै चिन्ता व्यक्त गरिन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us