Monday, 5 September 2016

थाईल्याण्डबाट फर्के लगतै केपी ओलीले पत्रकारसँग झोक्किँदै भने मधेसी मोर्चाको पूरा गर्नुपर्ने माग केही पनि छैन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने बताएका छन् । थाईल्याण्डमा स्वास्थ्य उपचार गराएर सोमबार स्वादेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मधेसी मोर्चाले राखेको संशोधनको माग आफ्नै सरकारको पालामा पूरा भइसकेको र अब बाँकी केहि नरहेको दाबी गरे ।

तपाईँको सरकारले मधेसको माग सम्बोधन गर्न सकेन नि भन्ने पत्रकारको जिज्ञासामा झोक्किँदै ओलीले मधेसको सबै माग पूरा भइसकेको बताए । उनले झोक्किँदै भने, ‘मधेसको मुद्दा सम्बोधन गर्न सकेन भनेको के हो रु सीमांकन लगायतका मुद्दा मधेसको हो ?’

संविधान संशोधनबारे आफूहरुसँग कुनै छलफल सम्म नभएको बताउँदै ओलीले थपे –‘संशोधनबारे अखबवारी हल्लाको भरमा बोल्न आवश्यक छैन । कुनै दवाव वा बहकावमा लागेर लोकतन्त्रलाई अप्ठ्यारो पर्नेगरी कसैको स्वार्थका लागि संशोधन गर्ने कुरा होइन ।’

भारतलाई संकेत गर्दै उनले थपे, ‘संविधान संशोधन औचित्यपूर्ण हुनुपर्छ । कसैको आग्रहमा होइन । ’ अग्रगमन र देशको इज्जत माथि उठाउनको लागि मात्रै संविधान संशोधन हुनुपर्ने उनको भनाई थियो ।

आफू सामान्य स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जाँदा पीत पत्रकारिता गर्नेहरुले रअलाई भेट्न गएको भनि लेखको भन्दै उनले आक्रोसित हुँदै भने– झुटको खेती गर्नेहरुलाई मेरो भन्ने केहि छैन । त्यस्ता लेख्ने पत्रकारले सिधै कथा लेखे भइहाल्यो । राजनीतिसँग किन जोड्नु ’

उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकारको कुनै समिक्षा गर्न आवश्यक नभएको समेत बताए । उनले हाँस्दै भने, ‘सरकारको समिक्षा मैले किन गर्नु, मबाहेक अरुले गर्न हुँदैन ।’

उनले आफू स्वस्थ्य भएर फर्किएको भन्दै बाँकी जीवन संविधान कार्यान्वयनका साथै देशको र पार्टीको लागि खर्चिने बताए । गत भदौ ९ गते थाइल्याण्ड गएका ओलीले बैंककको बुमरुङगार्य अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । उपचारका अलवा कुनै राजनीतिक भेटवार्ता नभएको र केहि दिन थाइल्याण्डका विभिन्न स्थानमा घुमघाम गरेको ओलीले जानकारी दिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us