Tuesday, 13 September 2016

नक्कली सेनाबाट लुटिए डेटिङ जाने जोडी, चार जोडी लुटिएपछि दुई अभियुक्त समातिए

काठमाडौं । तपाई कोही केटासाथी वा केटीसाथीलाई लिएर राजधानी आसपासका डाँडामा ‘डेटिङ’ जाने गर्नुभएको छ ? छ भने सतर्क हुनुहोला, तपाई दिउँसै लुटिन सक्नुहुन्छ । लुटेराहरुले तपाईलाई सेना वा प्रहरीको भेषमा झुक्याउन सक्छन् ।

गत साउन २२ गते प्रेमी प्रेमिकाको एक जोडी नगरकोटको सल्लेरीमा घुम्न गएको थियो । नारिएर हिँडेको त्यो जोडीलाई आफूलाई सैनिक बताउने दुई व्यक्तिले नियन्त्रणमा लिए । आफूहरु नगरकोट ब्यारेकबाट खटिएको भन्दै उनीहरुले त्यो जोडीलाई सार्वजनिक स्थानमा अश्लील हर्कत किन गरेको भन्दै हप्काए ।

सेनाको जस्तै बुट लगाएका र कपाल पनि सेनाले जस्तै छोटो बनाएर काटेका उनीहरुले सार्वजनिक स्थानमा यसरी बस्नेलाई त्यसै छाड्न नमिल्ने बताएर तर्साए । नगद जरिवाना तिर्न नसक्ने भए सामान धरौटी राख्नुपर्ने भन्दै उनीहरुले युवायुवतीको मोबाइल र सुनको सिक्री कब्जामा लिएर भने( ‘सामान लिन ब्यारेकमा आउनू ।’

आफ्नो सामान फिर्ता चाहियो भन्दै त्यो जोडी नगरकोट ब्यारेकमा पुग्यो । तबमात्र थाहा भयो कि तिनीहरु त सैनिक नभएर लुटेरा पो रहेछन् । सेनाको नाममा आफूहरु लुटिएको थाहा पाएपछि दुबैजना भोलिपल्ट भक्तपुर प्रहरी परिसरमा उजुरी गर्न पुगे ।

‘डिपोजिट राख्नुपर्ने भन्दै सबै सामान जफत गरेर ब्यारेकमा सम्पर्क गर्न भन्दै एउटा मोबाइल नम्बरसमेत दिएर उनीहरु हिँडेछन्,’ भक्तपुर परिसरकी एसपी किरण बज्राचार्यले भनिन्, ‘आफूलाई नगरकोट ब्यारेकको सेना बताउने ती दुई व्यक्तिले युवायुवती दुबैको मोबाइल, युवतीको सिक्रीसमेत गरेर करिब डेढ लाख मूल्य बराबरको सामान लुटेछन् ।’

एसपी बज्राचार्यका अनुसार सेना भन्दै सम्पर्क गर्न दिएको नम्बरका आधारमा अनुसन्धान गर्दा रसुवाका ग्याल्बो घले र रामेछापका राजकुमार भन्ने अनिल खड्का पक्राउ परेका छन् । पक्राउ परेका घले र खड्काले युवायुवतीबाट लुटेको गहना बालाजु नेपालटारस्थित ओमबीर सुन चाँदी पसलमा लगेर बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ । युवायुवतीलाई सेना र प्रहरी हुँ भन्दै काठमाडौं र भक्तपुरका चारवटा लुटपाटका घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले दुबैलाई पक्राउ गरेको हो । उनीहरुले गत साउन १२ गते पशुपतिको वनकालीमा डेटिङमा गएको अर्का एक जोडीलाई पनि त्यसरी नै लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वनकालीमा डेटिङ गएको जोडीलाई पनि घले र खड्काले आफूहरु प्रहरी भएको भन्दै धम्क्याएका थिए । केटी र केटालाई फरक फरक ठाउँमा लगेर केटाको मोबाइल लुटेका थिए । तर, युवतीलाई भने घलेले सार्वजनिक स्थानमा अनैतिक काम गरेकाले प्रहरी चौकीमा जानुपर्ने भन्दै हिँडाएर चाबहिलसम्म पुर्‍याएका थिए ।

चाबहिलबाट सार्वजनिक बस चढाएर उनीहरुले बालाजु हुँदै नागार्जुनस्थित मकैबारीमा पुर्‍याएर युवतीलाई बलात्कार गरेको उजुरी बालाजु वृत्तमा दर्ता छ ।

बालाजु वृत्तका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले भने  ‘उनीहरुले बालाजु माछापोखरीबाट चौकी जाने भन्दै युवतीलाई बाइपासबाट हिँडाएरै मुड्खु पुर्‍याएर त्यहाँबाट बयानका लागि भन्दै जंगल नजिकै रहेको मकैबारीमा लगेर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको छ ।’

प्रहरी निरीक्षक मगरले भने ‘केटाको तीन हजार रुपैयाँ लुटेर उतै छोडिदिएछन्, युवतीलाई भने नागार्जुनसम्म ल्याएर केश मिलाइदिन्छु भन्दै एकान्त ठाउँमा लगेर बलात्कार गरेको उजुरी परेको छ ।’

प्रहरीका अनुसार नगरकोटमा भएको घटना घले र खड्काले गराएको चौथो घटना हो । बालाजु बृत्तका निरीक्षक मगरका अनुसार गत वर्ष माघमा पनि यही समूहले नागार्जुनको भ्यु टावरमा प्रहरी हौं भन्दै डेटिङमा पुगेका जोडीको मोबाइल लुटेको उजुरी परेको थियो ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us