धनुषा । धनुषाको पौडेश्वरमा एक जना भारतबाट आएका झाँक्रीले झारफुक बाट उपचार गर्ने नाममा गलत क्रियाकलाप गर्ने गरेका छन् । उनले गएको चार वर्षदेखि भुतप्रेत, बोक्सा, बोक्सी एवं झारफुकको नाममा गलत धन्धा गर्दै आएको स्थानीय बासिन्दाको आरोप छ । कम उमेरका महिला एवं युवतीलाई झारफुक उपचारको नाममा सम्मोहन गरी गलत धन्धा गर्ने गरेको रहस्य खुलेको हो । जनकपुरदेखि झण्डै ६ किलोमिटर पूर्वमा रहेको पौडेश्वर गाविस ३ स्थित मस्जिदमा भारत, विहार राज्य मधुवन्नी मोतीहारी घर भएका मोहम्मद अमरे आलमले झारफुकले हरेक दुःख कष्ट निको पार्ने भ्रम छरेर सोझा व्यक्तिलार्ई ठग्ने गरेका छन् ।
तीन वर्षदेखि मस्जिदमा मोल्वी भएर बस्दै आएका झाँक्री आलमले भुत, प्रेत, बाँझोपन तथा अन्य दुःख कष्टहरुबाट झारफुक र तन्त्र मन्त्रले मुक्ति दिने गरेको दावी गर्छन् । आलम भएको ठाएँमा झारफुक गराई दुःख कष्ट निको हुन्छ भन्ने सुनेर टाढा गाउँबाट मानिसहरु आउने गरेका छन् । त्यहाँ आउनेहरु अधिकांश अविवाहित महिला हुन्छन् ।
वर्षेनी ४ सयभन्दा बढीको संख्यामा भुत प्रेत लागेका तथा अन्य विरामीका व्यक्तिहरु आउने गरेको र उनीहरुलाई उपचार गरी निको बनाएर पठाउने गरेको आलमले दावी गर्ने गरेका छन् । उनले सिधासाधा जनताको आँखा छल्न केहि व्यक्तिहरुलाई मिलाएर राख्ने गरेको रहस्य समेत बाहिरीएको छ । दुई वर्ष पहिला उनले प्रत्येक विरामीसँग १ सय ५० रुपैयाँ शुल्क लिने गरेको भएपनि हाल ३ सय रुपैयाँ लिने गरेका छन् ।
आलमका अनुसार बिरामीको प्रकृति अनुसार उपचार गरि रोग निको पार्न ६ महिना सम्म लाग्छ । दुई वर्षअघि सञ्चार माध्यमहरुमा उनको गोरख धन्धाको खुलासा भएपछि केहि महिना उनी फरार भएका थिए । त्यसपछि पुनः आएर ठगी धन्दा चलाउँदै आएका छन् ।
झाँक्री आलमकोमा दुई वर्षअघि देखिएका केहि महिला अहिले पनि त्यहाँ देखिएका छन् । जबकी मोलवी आलम आफूले बढीमा तीन महिनासम्ममा भुत प्रेत हटाउने दावी गर्छन् । अरुको आँखा छल्न उनले आफ्ना केहि व्यक्तिहरुलाई मस्जिदमा राखेका छन् । जुन व्यक्तिले आफू निको हुन लागेको दावी गर्छन् । तर ती व्यक्ति दुई वर्षअघि पनि सोहि स्थलमा देखिएका थिए ।
झाँक्री आलमले उपचार गर्ने स्थल मस्जिदको पछाडि बाहिरबाट नदेखिने गरि चारै तिरबाट कपडाले बेरेर राखिएको छ । त्यसभित्र महिलाहरुलाई राखेर मन्त्र उच्चारण गरेको सुनिन्छ । बिरामी महिलाबाहेक अन्यलाई त्यस घेराभित्र छिर्न प्रतिवन्ध लगाइएको छ । कुरुवा भएपनि बाहिरै बस्नु पर्ने हुन्छ । त्यसभित्र अधिकांश अविवाहित युवती मात्र देखिन्छन् । घेराभित्र भुत प्रेत लागेका भनिएका महिलाहरु जोड जोडले कराउँछन् । कपाल फहराएर हजार विलौना गर्छन् । भाकल गर्छन् । उठ्छन् बस्छन् । कराउँदै भुईमा पछारिन्छन् । कुनै कुनै बेला बाहिर चौर तिर पनि भाग्छन् । पुनः फर्कन्छन् । रातिको समयमा पनि त्यहाँ महिला मात्र हुन्छन् ।
बाहिरका त्यस्तै कोहि प्रतिष्ठित व्यक्तिहरु त्यस स्थलमा गयो भने झाँक्री आलमको इसारामा केही महिला बढी उफ्रिन्छन् । खेलाउँछन् । आलमको खुट्टामा खस्छन् । गोडा समातेर गिड गिडाउँछन् । तर आएको व्यक्ति गइसकेपछि केहि बेरमै उनीहरु शान्त हुन्छन् । सबै शान्त भएर बस्छन् । सुत्छन् ।
केहि महिलाहरुले त्यहाँबाट निकाल्न र मुक्त गर्न ईशारा समेत गर्ने गर्दछन् । तिनीहरु घरपरिवारको दवावमा त्यहाँ बस्नु पर्ने हुन्छ । तर तिनीहरुको वेदना र पीडा सुन्ने झाँक्री आलम बाहेक अरु कोहि हुन्न । त्यहाँको अवस्था हेर्दा रोगको उपचार हो कि कुनै नाट्यशाला छुट्याउन मुस्किल हुन्छ ।
स्थानीय बासिन्दाका अनुसार उमेरमा बढी वा त्यति सुन्दर नभएका युवतीलाई एक सातामै झारफुक गरि ठीक भयो भन्दै पठाउँछन् । तर कम उमेरका युवती र सुन्दरी राम्री देखिने महिलालाई ६ महिना सम्म दौडधुप गराउने र बस्न लगाउने गरेका छन् । नाम नभन्ने सर्तमा एक जना स्थानीय बासिन्दाले भने, ‘उपचार गराउन आउने महिलाहरु मध्ये कतिपय घर फर्किन्छन् भने राम्री महिलाहरुलाई त्यहिँ बसेर उपचार गराउन झाँक्री आलमले बाध्य पार्छन् ।’
ती व्यक्तिका अनुसार बिरामी नभएका महिलालाई पनि आलमले मानसिकता बिगारेर आफ्नो बसमा ल्याउँछन् । स्थानीय बासिन्दाका अनुसार कतिपय व्यक्तिहरु ठीक हुने विश्वासले आए पनि आलमको बानी व्यहोरा र चाल चलनले चित्त नमानेपछि बिचमै फर्किन्छन् । सोझा महिलालाई छक्याएर, झुक्याएर त्यही बस्न बाध्य पार्छन् आलम ।
स्थानीय बासिन्दाका अनुसार केहि दिन अघि मस्जिदको छेउमा रातिको समयमा बसेर तीन चार जना व्यक्तिहरु जाँड रक्सी खाइरहेको बेला स्थानीय बासिन्दाले लखेटेर समाति ती व्यक्तिहरुलाई कुटपिट गरेका थिए । यसले मस्जिद नजिकको वातावरण पनि बिग्रेको अनुमान सजिलै लगाउन सकिन्छ ।
बोक्सी प्रथा, धामी झाँक्री, भुत प्रेत जस्ता अन्धविश्वास र सामाजिक कुरिति विरुद्ध सरकारले कडा कानून बनाई यसमा संलग्न दोषीलाई दण्डित गर्ने व्यवस्था एकातिर गरेको छ भने अर्कोतिर यस्ता प्रथालाई आलम जस्ता धामी झाँक्रीले खुलेआम बढावा दिइरहेका छन् ।
आलम भने, ‘मेरोमा भुत प्रेत लागेकाहरु आउँछन् र ठीक भएर जान्छन् ।’ विज्ञानले भुत प्रेत केहि छैन भन्ने भ्रम छरेको आलमको दावी छ ।