Thursday, 4 August 2016

प्रधानमन्त्री बस्ने बालुवाटारमा खाजामा हुनछ दैनिक ९३ हजार खर्च

काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा खाजा खर्चवापत मात्रै दैनिक करीव १ लाख रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । प्रधानमन्त्री कार्यालयको खर्च विवरणमा यस्तो विवरण फेला परेको हो ।खर्च विवरण अनुसार ओलीले साउन महिनाभरी मात्रै १७ लाख ८० हजार १ सय ३७ रुपैयाँको खाना÷खाजावापत खर्च गरेका छन् । नयाँ आर्थिक वर्ष लागेपछि ओली जम्मा १९ दिनमात्रै बालुवाटार बसेका थिए । उक्त रकमको हिसाव गर्दा दैनिक ९३ हजार ६ सय ९१ रुपैयाँ ४२ पैसा पर्न आउँछ ।

बालुवाटारमा साउनमा सबैभन्दा धेरै अनमोल क्याटरीङ्गबाट खानारखाजा लगीएको छ । बुधबार भुक्तानीका लागि प्रधानमन्त्री तथा मन्त्रीपरीषद कार्यालयमा पेश भएको विल अनुसार ८ लाख ४ हजार ८ सय ४२ रुपैयाँको खाना तथा खाजा अनमोलबाट लगिएको छ । त्यस्तै सोल्टी होटलबाट ७ लाख २४ हजार २ सय ४७ रुपैयाँको खाजा बालुवाटार लगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटघाट र छलफलका लागि पुग्ने नेता कार्यकर्ताको लागि १५ लाख बढीको खाना नास्ता होटल र क्याटरीङ्गबाट लगिएको छ । पछिल्लोपटक मन्त्रीपरीषद बैठक र एमालेका विभीन्न कमिटिको बैठक बालुवाटारमै हुने गरेको थियो । उनीहरुलाई १५ लाख २९ हजार ९० रुपैयाँको खाजा होटल र क्याटरीङ्गबाट लगिएको बिलमा उल्लेख छ ।

प्रधानमन्त्री निवासमा नै खाना खाजा बनाउने गरी भने जम्मा अढाई लाख रुपैयाँको मात्र खाद्यान्न लगिएको छ । बुद्धनारायण खाद्यान्न सप्लायर्सबाट २ लाख ५१ हजार ४८ रुपैयाँको खाद्यान्न लगिएको विलमा उल्लेख छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us