Wednesday, 17 August 2016

‘कम्पनीको दबाबका कारण आत्महत्या गर्न बाध्य पारिएका एक सेल्सम्यानको कथा’

काठमाडौं । पत्नी र दुई कलिला बच्चालाई छोडेर भारतमा एबोट ल्याबरोटरिजका लागि काम गर्ने एक २७ वर्षीय सेल्सम्यान मोटरसाइकल चढेर रेलको लिकमा पुगे र रेलअगाडि हामफाले। ती व्यक्तिको खल्तीमा नीलो मसीले हिन्दी र अंग्रेजी मिश्रित भाषामा लेखिएको सुसाइड नोट भेटियो, जसमा लेखिएको थियो, ‘म आत्महत्या गर्न गइरहेको छु, किनभने मैले कम्पनीले तोकिदिएको बिक्री लक्ष्य भेट्न सकिरहेको छैन र कम्पनीले मलाई दबाव दिइरहेको छ।’

अघिल्लो महिना आशिष अवस्थीको मृत्युले भारत तरंगित भयो। एबोट औषधि कम्पनीका २५० एमआर (बजार प्रतिनिधि) हरुले एक दिनका लागि काम रोके र कम्पनीको आक्रामक बिक्री नीतिको विरोध गरे। कम्पनीहरुले बिरामीको स्वास्थ्यमा सम्झौता गरेको भन्दै औषधी बिक्रेताको राष्ट्रिय युनियनले नयाँ सरकारी नियम लागु गर्न आह्वान गर्यो।न्युयोर्क टाइम्सको ६ महिना लामो अनुसन्धानमा एबोट कम्पनीका केही म्यानेजरहरुले कर्मचारीहरुलाई, सरकारी कानुन, व्यवसायिक मान्यता र कम्पनीकै नीतिभन्दा बाहिर गएर भए पनि जुनसुकै मूल्यमा बिक्री बढाउन निर्देशन दिइने गरेको कुरा पत्ता लागेको छ।

भारतमा एबोटजस्तो विश्वव्यापी कम्पनीमा सेल्सम्यानको जागिरलाई निकै राम्रो मानिन्छ। तर त्यस्ता काम कर्मचारीका लागि अचाक्ली दबावपूर्ण पनि हुनसक्दछन्। यस्ता केही आम अभ्यासमध्ये एकमा म्यानेजरले एमआरहरुलाई स्वास्थ्य शिविर आयोजना गर्न लगाउँछन्, जहाँ एमआरहरुले डाक्टरको व्यापार बिस्तार गर्न बिरामीमा अनेकौँ रोगको परीक्षण गर्दछन्। त्यसपछि डाक्टरहरुले एबोट कम्पनीका औषधि सिफारिस गर्दछन्। यस्ता शिविरहरु डाक्टरको अफिसमा वा सामुदायिक कार्यक्रमहरुमा आयोजना गर्ने गर्ने गरिन्छ।

बिक्रेताले बिरामीको परीक्षण गर्दा उनीहरुलाई बिना अनुमतिपत्र चिकित्सकीय प्रयोग गरेको आपराधिक आरोप लाग्नसक्ने कुरा ‘मेडिकल काउन्सिल अफ इन्डिया’का अध्यक्ष डा. जयश्री मेहता बताउँछन्। उनका अनुसार भारतीय चिकित्सा नियमले फाइदाका लागि गरिने यस्ता कार्यहरुलाई प्रतिबन्धित गरेको छ।

एबोट इन्डियाका पब्लिक अफेयर डाइरेक्टर आनन्द कडकोल कम्पनीको व्यापारिक नीति भारतको कानुनसँग मेल खाने खालको रहेको बताउँछन्। स्वास्थ्य शिविरहरुलाई उनी ‘रोगसम्बन्धी जनचेतना जगाउने शैक्षिक कार्यक्रम’ भन्दछन्। एबोटको नीतिले एबोटको औषधि सिफारिस गरिदिने सम्झौतामा यस्ता शिविर आयोजना गर्न अनुमति नदिने पनि उनी बताउँछन्। तर कर्मचारीमाथि टिप्पणी गर्न कम्पनीले अस्वीकार गर्यो। कडकोलले कम्पनी त्यस्ता आरोपहरुप्रति सचेत रहेको र त्यसलाई सम्बोधन पनि गरिएको बताए।

तर उत्तरी भारतका बिक्रेता समूहका पूर्व म्यानेजरहुदाँ दिइने एउटा मल्टिभिटामिनको बिक्री बढाउन बिरामीहरुमा अधिक परीक्षण गर्ने दबावका बीच कामबाट बर्खास्त गरिएको विवेक गुप्ता बताउँछन्। राष्ट्रिय नियम र कम्पनीकै नीतिविपरीतको सो काम गर्न नमान्दा आफूलाई कामबाट निकालिएको उनको भनाइ छ। ३७ वर्षका म्यानेजर मर्ज भएको एक कम्पनीबाट एबोट कम्पनीमा आएका थिए।

सुरुबाटै एमआरहरुबाट हुने बिरामीको परीक्षणलगायतका विषयमा गुप्ताको आफ्ना म्यानेजरसँग मनमुटाव सुरु भयो। सो मनमुटावपछि, हाकिमहरुले उनलाई मध्यरातमा तथा विदाका दिहरुमा फोन गर्ने र म्यासेज पठाउने गर्न थाले। जसका कारण उनलाई डिप्रेसन भयो। त्यस्तै एक फोनकलपछि उनले आफ्नी पत्नीले भर्खरै तताएर छोडेको स्त्री समात्न पुगे। गुप्ताका अनुसार उनले आत्महत्याको बारेमा पनि सोचे। पछि उनी एक मनोचिकित्सककहाँ गए। त्यसपछि उनका हाकिमले उनलाई १५ सय माइल टाढा चेन्नइ सरुवा गर्न खोजे, जसलाई उनले अस्वीकार गरिदिए।

अगस्ट, २०१५ मा गुप्ताले एबोटका भारतका उच्चाधिकारीहरुलाई स्वास्थ्य शिविरमा एमआरहरुबाट गरिने परीक्षणको बारेमा प्रमाणसहित उजुरी गरे। उल्टै उनलाई बर्खास्त गरियो। अहिले उनी एक अस्पतालमा कार्यरत छन्।

मध्य भारतमा सेल्स एजेन्ट रहेका २६ वर्षीय धीरेन्द्र यादव ‘अनैतिक तरिकाबाट काम गर्ने अत्याधिक दबाव’का बीच आफूले २०१३ मा राजिनामा दिएको बताउँछन्। यादवका अनुसार उनका म्यानेजर, जो पछि गएर आत्महत्या गरेका आशिष अवस्थीको पनि म्यानेजर बनेका थिए, ले उनीहरुको समूहको बिक्री लक्ष्य पूरा गर्नका लागि झण्डै १५ हजार भारतीय रुपैँयाको औषधि आफूलाई किन्न लगाएका थिए। सो रकम सामान्यतः भारतीय एमआरहरुको मासिक तलबको आधाभन्दा बढी हो।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us