Thursday, 11 August 2016

काठमाडौंमा ठगीको नयाँ तरिका, यौनकर्मीको भेषमा ‘लुट सुन्दरी’

काठमाडौं । गत साता महानगरीय प्रहरी वृत्त सोहखुट्टेमा एक जना इन्जिनियर यौनकर्मीबाट लुटिएको भन्दै उजुरी गर्न पुगे ।

प्रहरीका अनुसार उनी अघिल्लो रात मदिरा सेवन गरी ठमेलबाट घर फर्कंदै थिए, बाटोमा दुई जना युवतीले ‘जाने हैन दाइ ?’ भन्दै हाउभाउ देखाउन थालेछन् । नशामा मस्त भएका ती व्यक्तिले धेरै नाईंनास्ती गर्न सकेनन् । उनीहरुबीच पैसाको कुरो मिलाउन समय लागेन । उनले जति दिन मन देखाए, त्यतिमै केटीहरू खुसीले माने । नजिकैको एक होटलमा गएर कोठा लिउन्जेल दुवै केटी सँगै थिए । त्यसमध्येकी अलि हिस्सी परेकीलाई इन्जिनियरले आँखा लगाए, अर्की कोठासम्म पु¥याएर फर्किन् । 

होटलमा पुगेपछि रक्सी र नारीको नशामा परेका ती पुरुषलाई केही होस भएन । केटीले फ्रेस हुनुहोस् भन्दै बाथरुममा हुलिदिइन् । उता इन्जिनियर साप रंगीन रातको कल्पना गर्दै नुहाउँदै थिए, यता उनको पर्स, मोबाइल सबै बोकेर केटी टाप ठोकिन् । अझ ढोकामा बाहिरबाट चुकुल पनि लगाइदिइन् । अर्धनग्न अवस्थामा बेस्सरी ढोका ढकढकाइरहेका ती व्यक्तिलाई होटलका मान्छेले बाहिर निकाल्दा सम्म लुट सुन्दरी गायब भइसकेकी थिइन् । 

युवतीबाट लुटिएका ती इन्जिनियर घरबाट पार्टीमा जाने भन्दै हिँडेका रहेछन् । धेरै रातिसम्म घर नआएपछि श्रीमतीले फोन गर्दा तिनै युवतीले फोन उठाएर उल्टै झपारिन् । लुटिएर घर पुगेका श्रीमान्ले श्रीमतीलाई मुख पनि देखाउन सकेनन् । तर, यस्तो अपराध सहनु हुँदैन भनेर भोलिपल्ट बिहानै पुलिस स्टेसन पुगे र रिपोर्ट लेखाए ।

महानगरीय प्रहरी वृत्तका डीएसपी सुमेन्द्र राठौरका अनुसार हालका दिनमा केटीले अनेक बहानाबाट लुट्ने प्रकारका उजुरी बढ्न थालेका छन् । हालैका केही दिनमा युवतीबाट लुटिएको भन्दै प्रहरीमा ५ जनाले उजुरी नै दिएका छन् । फोनमा र भेटेर गुनासो गर्नेहरु अझ धेरै रहेको डीएसपी राठौरले बताए ।  डीएसपी राठौरका अनुसार अहिले ठमेलमा यौन मनोरञ्जनका नाममा तीन प्रकारका ठगी हुने गरेका छन् ।

मदिरा सेवन गर्ने मानिसको नजिक जाने, मोडल र हिरोइनसँग रात बिताउने हो भने मिलाउँछु भन्छन् । जब ग्राहक तयार हुन्छन्, अनि यहाँ आउँदैनन्, अन्तै जानुपर्छ भनेर कुनै होटलमा लगेर पर्खिन लगाउँछन् । सिनेमाको हिरोइन वा कुनै नाम चलेको मोडलसँग रात बिताउन उत्तेजित भएका बसेका त्यस्ता व्यक्तिलाई रक्सीमा नशालु पदार्थ मिसाएर खुवाउँदै लठ्ठ पार्छन् र साथमा भएको पैसा, सामान, मोबाइल लुटेर दलाल सुइँकुच्चा ठोक्छन् । कतिपय अवस्थामा त्यस्ता हिरोइन, मोडलको एक रातको मूल्य ५० हजार हो भनेर एड्भान्सका नाममा २०, ३० हजारजति पाउँछन् । त्यही लिएर बेपत्ता पनि हुन्छन् ।  

त्यस्तै, ठमेल क्षेत्रका होटलमा बस्ने ग्राहकलाई केटी मिलाइदिने भन्दै ट्याक्सी चालक र होटलमा काम गर्नेसँगको मिलोमतोमा एक गिरोह सक्रिय हुन्छ । यस्तो गिरोहले ग्राहकबाट १० देखि १५ हजार असुलेर युवतीलाई एक–दुई हजार दिने र बाँकी आफैं खाने गरेको प्रहरीको भनाइ छ । 

डीएसपी राठौरले युवती दलाली गर्ने ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको तर त्यस्ता व्यक्ति जेलबाट छुटेर सिधै सोही पेसामा जाने गरेको दुःखद् अवस्था भएको बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us