Thursday, 4 August 2016

साढे दुई लाख रुपैयाँ नहुदा, एक नेपालीको शव पाँच वर्ष देखि साउदीमै

साउदी । करिब पाँच वर्षअघि साउदी अरबमा मृत्यु भएका हर्षबहादुर खत्रीको शव पहिचान खुलेको महिनौं भइसक्दा पनि नेपाल झिकाउन सकिएको छैन। मृत्यु भएको खबर पुष्टि भए पनि शव भेट्टाउन नसकिएपछि तीन वर्षअघि मृतकका बाबु वीरबहादुरले कुशको शव बनाएर छोराको किरिया गरे।

किरियाको वर्षौंपछि साउदी अरबको रियादस्थित दूतावासले गत वैशाखमा खत्रीको परिवारलाई खबर पठायो, ‘तपाईंको छोराको शव फेला पर्‍यो।’ तर यस्तो सूचना पाएको तीन महिना बितिसक्दा पनि शव नेपाल ल्याइएको छैन।

शव ल्याउने पहल गर्न गत जेठमा वीरबहादुर बाँके ए गाउँ सीतापुरबाट काठमाडौं आएका थिए। त्यतिबेला परराष्ट्र मन्त्रालयदेखि कन्सुलर शाखासम्म र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृह मन्त्रालयसम्म धाएको गुनासो पोख्दै वीरबहादुरले भने, ‘छिटै हुन्छ भनेका थिए, केही खबर पाएका छैनौं।’ छोराको शव आउने आसमा बसेकी वीरबहादुरकी पत्नीको रातोदिनको रुवाइ रोकिएको छैन। वीरबहादुरले भने, ‘छोराको अनुहार मात्रै देख्न पाए हुन्थ्यो भन्ने उसको इच्छा छ।’ साउदी प्रहरीका अनुसार खत्रीको शव अलहासास्थित सरकारी अस्पतालमा राखिएको छ।

वीरबहादुरले सरकार फेरिएका कारण छोराको शव ल्याउने पहल चाल्न काठमाडौं आउन नपाएको सुनाए। उनले भने, ‘अब नयाँ प्रधानमन्त्री बनेपछि केही पहल गर्छन् कि भन्ने आस छ।’ गैरकानुनी कामदारको शव ल्याउन सरकारले रकम बेहोर्न नसक्ने भएकै कारण दूतावासदेखि मन्त्रालयसम्मले यसमा अन्योल साधिरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार खत्रीको शव ल्याउन करिब दुई लाखदेखि साढे दुई लाख रुपैयाँ लाग्ने देखिन्छ।

वीरबहादुर भने छोराको शव आएपछि दोस्रोपटक किरिया बस्नुपर्ने हो कि नपर्ने भन्ने अन्योलमा छन्। उनले भने, ‘पहिले पनि तेह्र दिन नै विधिपूर्वक किरिया बसिएको हो।’ खत्रीले यसबारे पण्डितसँग पनि बुझिरहेका छन्। ‘पहिले किरिया बसेका कारण अब पुरै किरिया बस्नु पर्दैन भनेका छन्,’ उनले सुनाए, ‘तीन दिन नुन नखाई किरिया बस्दा हुन्छ भन्ने कुरा छ।’ खत्रीको परिवारले छोराको शव भेटियो भन्ने खबर सुन्दा अनुहार देख्न पाइने भइयो भनेर चित्त बुझाएका थिए। खत्रीले भने, ‘शव भेटिएर पनि ल्याउने पहल छिटो नहुँदा फेरि चिन्ता बढेको छ।’

सामान्यतया विदेशमा मृत्यु भएका अवैध कामदारको शव ल्याउन परराष्ट्र मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयमा पत्र काट्छ र श्रमले आवश्यक रकमका निम्ति अर्थ मन्त्रालयको बजेट महाशाखामा मन्त्रीस्तरीय निर्णय गरेर पत्र काटिन्छ। खत्रीको शव तत्काल ल्याउन पहल थाल्न भन्दै दुई महिनाअघि नै गृह मन्त्रालयले चासो देखाएको थियो।

गैरकानुनी बाटो हुँदै खत्रीलाई साउदी पुर्‍याउने दलाल हश्ररालाल ओली र उमेश आचार्यमाथि पनि विधिसम्मत कारबाहीको प्रक्रिया वैदेशिक रोजगार विभागले चालेको छैन। त्यति बेला म्यानपावर कम्पनीको एजेन्टका रूपमा सक्रिय आचार्य भने अहिले काठमाडौंमा मेनपावर कम्पनी चलाएर बस्छन्।

परराष्ट्र मन्त्रालयको कन्सुलर शाखाका महानिर्देशक गणेश ढकाल शव ल्याउने विषयमा फलोअप भइरहेको बताउँछन्। साउदी अरबस्थित नियोगले पनि यस विषयमा पहल चालिरहेको बताउँदै उनले भने, ‘ढिला हुँदा हामीलाई पनि दुस्ख लागेको छ।’


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us