Friday, 12 August 2016

३ पुस्तादेखि जंगलकै बास

कञ्चनपुर । ५५ वर्षीय दलबहादुर बोहरालाई आफ्नो पुर्ख्यौली थलो कहाँ हो रु थाहै छैन । बुवा–बाजेको पालामा बझाङबाट विस्थापित परिवारको दुई पुस्तादेखि जंगलमै बास छ । ९० को दशकमा घरखेत पहिरोले पुरिएपछि बाजे कमलसिंह विस्थापित भई डडेलधुराको आलीताल पुगे । त्यसयता उनको परिवार डोटी र कञ्चनपुरका विभिन्न ठाउँ हुँदै अहिले कृष्णपुर नगरपालिकाको वाणी नजिक वनहरा नदी किनारमा छाप्रो बनाएर बसिरहेका छन् ।

‘यहाँ बस्न थालेको पनि ११ वर्ष पूरा भयो,’ छाप्रो देखाउँदै उनले भने, ‘बाजेको पालादेखि सुरु भएको जंगलको बास अझै चलेकै छ ।’ डडेलधुराको आलीताल, डोटीको बुडर, कैलालीको तेघरी, लालपुर र विमानस्थल आसपास तथा कञ्चनपुरको बाइसेबिचवामा जंगल किनारकै बसोबासपछि परिवार यहाँ आइपुगेको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत वनहरा पुल छेउमा एक दर्जन बढी बाढी विस्थापित, सुकुम्बासी र मुक्त हलिया परिवारका छाप्रा छन् । उनीहरू कञ्चनपुर, दार्चुला, बैतडी, डडेलधुरा, बझाङ र अछामबाट बसाइँ आएका हुन् । २०६२ मा उक्त क्षेत्रमा करिब डेढ हजार बढीले छाप्रा बनाएका थिए । तीमध्ये कतिपय घर र जमिन भएका थिए । ‘अहिले कहीं कतै पनि जग्गा–जमिन नभएकाहरू मात्रै छौं,’ बोहराले भने, ‘अन्त घर र जमिन भएकाहरूले बिस्तारै छाप्रा छाडेर गइसके ।’

सडक किनारमा बसेर २ छोरा र १ छोरीसहित ५ जनाको परिवार पाल्न बोहरालाई साह्रै गाह्रो छ । खेती र गाउँमा विकास निर्माणका काम चलेका बेला केही समय दैनिक ज्यालादारीको काम पाइए पनि बाँकी समय खाली बस्नुपर्छ । वनहरा किनारमा बसोबास गरिरहेका सबैको समस्या एउटै हो, गाँस, बास र कपास । उनीहरू दिनमा काम पाए मात्रै साँझ खान पाउने आशामा हुन्छन् । दिनमा कतै काम नपाइए बालबालिकालाई खुवाउनसमेत धौधौ पर्ने दार्चुला गल्फैबाट २०६२ मा विस्थापित रामबहादुर सुनारले बताए । २०५८ मा पहिरोले घर पुरेपछि भारतका विभिन्न ठाउँ हँुदै उनी यहाँ पुगेका हुन् ।

‘१०,१५ वर्षसम्म बालबच्चासहित सबै परिवार भारतमा लगेर पालें,’ उनले भने, ‘त्यहाँको कमाइले परिवार पाल्न गाह्रो भएपछि अन्त्यमा यहाँ आएका हौं ।’ पहिरोले घर पुर्दा उनी भारतको पिथौरागढमा मजदुरी गर्थे । परिवारसँगै भारत उत्तराखण्डका सबै गाउँ सहर चहारेर गुजारा गर्न गाह्रो भएपछि यहाँ आएको बताए । वनहरा किनारमा बसोबास गर्ने १३ परिवारमध्ये अधिकांश दलित समुदायका छन् । उनीहरूमध्ये केही त २र३ पुस्तादेखि विस्थापित भएरै जंगल किनारमा बसोबास गर्दै आएका छन् ।

जंगलमा बनाएको छाप्रो पनि वन प्रशासनले बेलाबेलामा भत्काएर दुस्ख दिने गरेको गुनासो छ । वास्तविक पीडितलाई सधैं दुस्ख दिइरहने र पीडितका नाममा वन अतिक्रमण गर्नेलाई संरक्षण गर्ने प्रशासनको गतिविधिका कारण सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ ।

‘अहिले हामीलाई वनको तारबारभित्र पस्न नपाउने गरी बस्न दिएको छ,’ बोहराले भने, ‘विगतमा थुप्रै पीडा भोग्यौं, बाइसेबिचवामा लालझाडी वनको किनारमा छाप्रो बनाएका कारण २,३ पटक पक्राउ गरेर जिल्लामै पुर्‍याए ।’ उनले छाप्रो बनाउनसम्म जमिन दिएर बसोबासको व्यवस्था गरिदिए वनजंगलको किनारमा बस्ने रहर नभएको बताए । वर्षातको समयमा एकातिर वनहराको बाढी र अर्कोतर्फ सर्पको त्रासमा बाँच्नुपरेको उनले बताए ।  वनहरा किनारमा बसोबास गर्ने १३ परिवारका ३० भन्दा बढी बालबालिका छन् ।

तीमध्ये अधिकांश पढाइबाट वञ्चित छन् । कम उमेरका स्कुल जाँदैनन् । सडक किनारको बसोबास भएकाले सवारी साधनको जोखिमका कारण साना बालबालिकालाई स्कुल नपठाउने गरेको विस्थापित परिवारले बताए ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us