Saturday, 13 August 2016

भूकम्प पछि दिनैपिच्छे बालबालिका र युवतीको उद्धार,हेर्नुस् कुन जिल्लाबाट बेचिए धेरै महिला र बालबालिका ?

काठमाडौं । गत वर्षको विनाशकारी भूकम्पपछि महिला बेचबिखन र ओसारपसारमा संलग्न दलालहरूले बालबालिका र युवतीहरूलाई भारततर्फ लैजान सुदूरपश्चिमका सीमा नाका प्रयोग गर्न थालेका छन् ।

कैलाली र कञ्चनपुरका सीमा नाकामा दिनहुँजसो बालबालिका र युवतीहरूको उद्धार हुने क्रम पनि बढेको छ । साउन महिनामा मात्र यस क्षेत्रमा कार्यरत संघसंस्थाको पहलमा विभिन्न नाकाबाट ९ जना युवतीको उद्धार गरिएको छ ।

सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर भन्सार कार्यालय र कञ्चनपुरको गड्डाचौकी भन्सारमा प्रहरी र संघसंस्थाको निगरानी बढेपछि दलालहरूले ग्रामीण क्षेत्रका नाका प्रयोग गर्न थालेका छन् । कैलालीको हसुलीया, खक्रौला, बौलिया नाका, फूलबारी नाका र कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका बेलौरी, खजुरिया हुँदै भारतको लखीमीपुर खिरी जोडिने विभिन्न ग्रामीण क्षेत्रका नाकाबाट दिनैपिच्छे भारत हुँदै तेस्रो मुलुक जाने युवतीको ओसार–पसार बढेको देखिएको छ ।

प्रहरीको तथ्यांक र यस क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाको तथ्यांकमा भिन्नता भए पनि गत वर्ष वैशाखयता सुदूरपश्चिमका नाका हुँदै भारत जाने महिलाको संख्या बिगतभन्दा तेब्बर बढेको देखिएको छ । शान्ति तथा पुनस्र्थापना गृह कैलालीका अनुसार पछिल्लो २ महिनामा मात्र १९ जनाको उद्धार गरिएको छ । शंका लागेको भरमा सोधपुछ गर्दा भेटिएका सबै महिला भूकम्पपीडित जिल्लाका रहेका छन् भने अन्य जिल्लाबाट यी नाका हुँदै भारत जान लागेको संख्या न्यून रहेको छ । गैरसरकारी संस्थाहरूको पछिल्लो तथ्यांकका आधारमा महिनामा ३ सयभन्दा बढी युवती भारत तथा अन्य मुलुकमा जान सुदूरपश्चिमका नाका प्रयोग गरेका छन् ।

‘दैनिक जसो सुदूरपश्चिमका नाका प्रयोग गरी भारत हुँदै तेस्रो मुलुक पठाइने महिला र युवतीको घुइँचोजस्तै लागेको छ,’ शान्ति पुनस्र्थापना गृहका कार्यक्रम संयोजक वासु भट्टराई भन्छन्, ‘भूकम्प प्रभावित जिल्लाका महिला र युवतीको ओसारपसार बढेको पाइएको छ ।’ पछिल्ला केही महिनामा मात्र उद्धार गरिएका युवतीको संख्या दर्जनौंमा रहेको भट्टराई बताउँछन् । ‘प्रहरी र कार्यरत संघसंस्थाको जानकारीमा नभएर भारत जानेको संख्या दैनिक १० भन्दा माथि रहेको अनुमान गरिएको उनी बताउँछन् ।

 ‘२ महिनाअघि शान्ति तथा पुनस्र्थापना गृहले भारतको राजधानी दिल्लीबाट समेत १२ जना युवती उद्धार गरी आफन्तको जिम्मा लगाएको छ,’ उनले भने, ‘प्रशासन र प्रहरीले यस्ता घटनामा ध्यान दिन नसक्दा सुदूरका नाका महिला बेचबिखन र ओसारपसारको मुख्य केन्द्र बन्दै जान थालेका छन् ।’

गैरसरकारी संस्थाको तथ्यांकअनुसार ०७१ र०७२ मा ४१ जना युवतीको कैलालीबाट उद्धार गरिएको थियो । जसमध्ये ९० प्रतिशत १६ देखि २० वर्ष उमेर समूहका रहेका थिए । यो वर्ष २ महिनामै १९ जनाको उद्धार गरिएको छ । उद्धार भएका अधिकांशको उमेर समूह पनि १६ देखि २५ रहेको छ । शान्ति तथा पुनस्र्थापना गृहका कार्यक्रम संयोजक भट्टराई भन्छन् । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us