Monday, 1 August 2016

गर्भपतन गराउने नेपाली महिलाको संख्या बढ्दै, गर्भपतन गराउनेमा २० वर्षमुनीका किशोरी बढि

काठमाडौं । सहज कानूनी व्यवस्था र उदार बन्दैगएको समाजका कारण गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । त्यसमा पनि २५ प्रतिशतभन्दा बढी त २० बर्षमुनीका किशोरीले गर्भपतन गराउने गरेका छन् । यसले गर्दा महिलाको प्रजनन स्वास्थ्य मा समस्या बढ्दै गएको चिकित्सकहरुको निष्कर्ष छ ।

काठमाडौंमा गर्भपतन गराउने महिलाको संख्या बार्षिक १५ हजारको हाराहारीमा पुगेको विभिन्न तथ्यांकहरुले देखाएको छ । काठमाडौं जिल्ला जन स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१ र ०७२ मा मात्र १३ हजार ७ सय ५७ जना महिलाले गर्भपतन गराएका छन् । त्यसमध्ये ३ हजार ४ सय ५८ जना बीस बर्ष मुनिका छन् । यस्तै गएको साउनदेखि बैशाखसम्म काठमाडौंमा १२ हजार ४ सय ९६ जनाले गर्भपतन गराएका छन् । जसमा २० बर्ष मुनीका किशोरीको संख्या ३ हजार ७ सय ७४ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक छ । एकातिर गर्भपतन गराउनेको संख्या बढ्दो छ भने अर्को तिर प्रजनन स्वास्थ्य सम्बन्धि समस्या लिएर स्वास्थ्य संस्था पुग्नेको संख्या पनि बढ्दो छ ।

काठमाडौंमा बीस बर्ष मुनिका किशोरीहरुमा गर्भपतनको संख्या बढ्नुमा असुरक्षित यौन सम्पर्क, अस्थायी साधनको प्रयोग नगर्नु र यौन शिक्षाबारे पर्याप्त ज्ञान नहुनु भएको चिकित्सकको बुझाइ छ ।

गर्भपतन सामान्य र स्वभाविक होइन । यसले महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्दछ । गर्भपतनले महिलाको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर पुर्याउने भएकाले यसलाई अस्थायी साधनको रुपमा नलिन चिकित्सकहरुको सुझाव छ ।

गर्भपतन गराउँदा वा पटकपटक गर्भपतन गर्दा धेरै रक्तश्राव हुने, पाठेघरमा प्वाल पर्ने र प्रजनन स्वास्थ्यमा असर गर्नेछ । त्यस्तै गर्भपतनका लागि खाने औषधिले महिलामा अवस्थाअनुसार तौल कम वा धेरै हुने, पाठेघरमा घाउ हुने र पछि सोही घाउ बढेर क्यान्स समेत हुनसक्ने भएकाले महिलाले पहिलो बच्चा जन्माउनुअघि गर्भपतन गराउन नहुने चिकित्सकहरुको सल्लाह छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us