Sunday, 7 August 2016

२४ वर्षदेखि खोला किनारको बास, भिक्षा समेत छोराले बेचेर रक्सी खाइदिने गरेपछि बुढा आमाबाबुको बिजोग

दाङ ।  ८३ वर्षीय नमबहादुर विक र उनकी ८० वर्षीया श्रीमती आइती कट्वाल्नीको बोली अस्पष्ट भइसकेको छ। कसैले उनीहरूले भोगिरहेको समस्याबारे चासो राख्यो भने जसोतसो लरबराउँदै बोल्छन्। बोलेको नबुझे पनि वृद्ध दम्पती बस्दै आएको रामपुर ३ बालिमखोला पुगेपछि उनीहरूको अवस्था स्पष्ट देखिन्छ।

पात, झिँगटा र टिनले जेनतेन बारेको छाप्रो, सुस्त चलेको हावाले पनि हल्लाइदिने त्रिपाल र वरपर थुप्रिएको फोहोरको डंगुर। फोहोरको डंगुरको छेउछाउमै टोलाइरहेका वृद्ध दम्पती। यस्तै यस्तै दृश्यले सो स्थानमा पुगेका जो कसैको मन पनि भावविह्वल बनाइदिन्छ।

गरिबी र समाजको तिरस्कारका कारण यो दलित दम्पती २४ वर्षदेखि खोलाको किनारमा बस्दै आएको छ। बालिमखोला छेउमा रहेको ऐलानी जग्गामा भत्किसकेको छाप्रोमा सम्हालिँदै एउटा गाई र दुइटा कुकुर पालेर उनीहरू बस्दै आएका हुन्। ‘सम्पत्तिका नाममा यही एउटा गाई र दुइटा कुकुर छन्,’ नमबहादुरले भने, ‘यिनीहरूसँगै बस्दै आएका छौँ।’



झुप्रो गाईको गोबर र हिलोले भरिएको छ। त्यही गोबर र हिलैहिलोको छेउमा बूढाबूढीको सुत्ने ओछ्यान छ। ओछ्यान के भन्नु ? ढुंगा मिलाएर बराबर बनाई थोत्राथोत्री लत्ताकपडाले टालेका थांना। यही बुकुरोभित्र ८० वर्ष नाघेका यी दलित दम्पती अन्तिम दिनहरू गन्दै बाँचिरहेका छन्।

‘पशुसरह पनि भएन छोरा’
एउटा छोरो भए पनि त्यसको व्यवहार आफूले पालेका पशुले जति पनि नदेखाएको वृद्ध नमबहादुले बताए। छोरो वर्षमा एक दुईपटक घर आउने र मागेर ल्याएको चामलसमेत बेचेर रक्सी खाइदिने गरेको उनीहरूले बताए। ‘छोरो भन्ने रहेन बाबु, मागेर ल्याएको चामल बेचेर रक्सी खाइदिन्छ,’ उनीहरूले भने, ‘छोराछोरीको भन्दा बढ्ता माया यही गाई र कुकुरको लाग्छ।’

००९ मा प्युठानबाट दाङ झरेर फिरन्ते जीवन बिताउँदै आएका नमबहादुरले आँखा देख्न छाडेपछि श्रीमतीसँगै बालिमखोलाको छेउमा बस्न थालेको बताए। मैलो शरीर, मयलले कटकटिएका पुराना कपडाले लाज मात्रै ढाकेका नमबहादुर भन्छन्,‘फेर्ने कपडा छैन, सुत्नलाई ओछ्यान छैन। अरु त के खानलाई अन्नै छैन।’ त्रिपाल र गाउँलेले फालेका पुराना कपडा, स्याउलाले छोपेको झुप्रोभित्र पानी पसेर ताल पर्ने भएकाले अरूले फालेका लत्ताकपडाको ओछ्यान पनि भिज्ने उनको भनाइ छ। ‘खानलाई चामल, नुनतेल क्यै छैन, मागेर कसैले दिँदैन,’ नमबहादुरले भने, ‘भोकभोकै बस्ने बानी पर्न लाग्यो।’ पहिले माग्न गएपछि गाउँलेहरूले अलि–अलि सहयोग गरे पनि आजभोलि कसैले केही नदिने गरेको उनको दुखेसो छ।

ढुंगा राखेर बनाएको दम्पतीको चुलो कहिलेकाहीँ मात्र बल्ने गर्छ। ‘कसैले दया गरेर चामल र पीठो ल्याइदिए मात्र खाना पाक्ने गर्छ, नमबहादुरले गहभरि आँसु पार्दै भने, ‘काम गर्न सक्ने अवस्था छैन, माग्न जाँदा छोराछोरी होलान् त भन्दै रित्तो हात फर्काइदिन्छन्।’ गाउँतिर गएर माग्नुभन्दा वनजंगलतिर गएर गिठ्ठा र तरुल ल्याई उसिनेर खाने गरेको उनीहरूको भनाइ छ।

घोराही रामपुर सडकको छेउमा बस्दै आएका यी वृद्धदम्पतीलाई देख्दा गाउँका केटाकेटीसमेत भाग्ने गर्छन्। च्यातिएका मैलो कपडा लगाएका वृद्ध दम्पतीलाई मानसिक सन्तुलन गुमाएको भन्दै कोही पनि उनीहरूसँग बोल्न मान्दैनन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us