Sunday, 7 August 2016

कर्णालीमा झरेको जहाज चार दिन सम्म पनि भेटिएन

काठमाडौं । अचानक इन्जिन बन्दभएपछि कर्णाली नदीमा फोर्स ल्याण्डिङ्ग गरिएको मकालु एयरको विमान चार दिन बितिसक्दा पनि भेटिएको छैन् । काठमाडौंमा रहेको मकालुको मुख्यालयले हुम्लास्थित कर्णाली नदी आसापासमा चार दिनदेखी जहाजको खोजी भइरहेको तर फेला नपरेको जनाएको छ ।

यस कम्पनीका महाप्रवन्धक बालकृष्ण श्रेष्ठका अनुसार, हुम्लामा सेना, प्रहरी र स्थानियको सहयोगमा जहाजको खोजी भइरहेको छ । ‘घटना भएकै ठाउमा जहाज छैन । नदीले बगाइसकेको छ । धमिलोपानीमा केही देखिदैन, कठिनाई भइरहेको छ,’ महाप्रवन्धक श्रेष्ठले भने । उनका अनुसार, नदीमा खोजी जारी नै छ । मकालुले एउटा इन्जिनको सानो ढक्कन र क्याप्टेन साङगे लामाको फलाइट ब्यागमात्रै घटना भएको स्थानदेखि केही मिटर तल फेला परेको बताएको छ । श्रेष्ठले आइतबार साँझसम्म यी दुई बस्तुबाहेक अरु केही नभेटिएको  बताए । जहाजको खोजी कार्यका लागि एउटा हेलिकप्टर पनि त्यस क्षेत्रमा परिचालन गरिएको छ । यसअघि गत बुधबार नागरिक उड्डयन प्राधिकरणको टोली पनि हुम्ला पुगेको थियो । हेलिकप्टरमा गएको उक्त टोलीले पनि जहाजको खोजी गरेको थियो ।

सुर्खेतबाट कार्गो बोकेर हुम्ला गएको यो विमान बिहीबार दिउसो पौने चार बजे रित्तै फर्किर्दै थियो । करिब ११ हजार ५ सय फिटको उचाईमा उडिरहेकाबेला एकल इन्जिन मात्रै भएको विमानमा समस्या देखियो । सिमीकोट विमानस्थलबाट करिब १६ किलोमिटर दक्षिणमा पुगेकाबेला इन्जिननै एक्कासी बन्द भएपछि चालकदलले जहाज ग्लाइड गरेर पखेटाको सहारामा कर्णाली नदीमा फोर्स ल्याण्डिङ्ग गराएका थिए । जहाजलाई पाइलटले पानीको अतिप्रवाह भएको ठाउमा फोर्स ल्याण्ड गर्दै उफ्रिएर ज्यान जोगाएका थिए ।

अमेरिकामा बनेको यो सेस्ना २०८ ग्रान्ड क्याराभान जहाज हो । यस्को तौल २३ सय ३६ किलोग्राम हाराहारी हुन्छ । नौ जना यात्रु बोक्ने यो विमानको लम्बाई १२ दशमलव ६७ मिटर रहेको छ । करिब १२ करोड रुपैया मूल्य बराबरको यो विमान गत बिहीबार हुम्लाबाट सुर्खेतकालागी उडिरहेकाबेला इन्जिनमा एक्कासी खराबी आएपछी क्याप्टेन साङगे लामा र कोपाइलट प्रशान्त शाहले डाइभर्ट गरी कर्णाली नदीमा फोर्स ल्याण्डिङ्ग गराएका थिए । यसैबिच यो विमान विमा गर्ने शिखर इन्स्युरेन्स कम्पनीले आइतबार एक जना सर्भेयरलाई हुम्लातर्फ पठाएको छ ।

यो जहाज दुर्घटनामा परेपछी मकालुसँग यस्तै प्रकारको एउटा मात्रै विमान बाँकी रहेको छ । मकालुमा जस्तै एयर काष्टमण्डपको एकल इन्जिन भएको विमानमा खराबी देखापरेपछि गत फागुन १४ गते कालिकोटको चिल्खयामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ९ जना यात्रु बाँच्न सफल भएका थिए भने चालकदलका दुई सदस्य क्याप्टेन दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानाको मृत्यु भएको थियो । उक्त जहाजबारे दुर्घटनाको कारण पत्ता लगाउन गठित जाँच आयोगले सरकारलाई प्रतिवेदन बुझाइ नसकेको अवस्थामा फेरि अर्को एकल इन्जिन भएको जहाज दुर्घटनामा परेको छ । यसबारे हालसम्म छानविन आयोग गठन भइसकेको छैन ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us